काठमाडाैं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्कीबाट रुपन्देही पुर्याउनमा ढिलाइ भएको छ ।
प्रतिकूल मौसमका कारण पोखराबाट भैरहवा जहाज उड्न ढिलाइ भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । भिजिबिलिटी नपुग्दा पोखराबाट जहाज उड्न नसकेको हो ।
मंगलबार बिहान पौने ८ बजे नै पोखराबाट भैरहवा ल्याउने तयारीस्वरूप पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेलाई ५ बजे नै पोखरा एयरपोर्ट लगिएको थियो । तर, जहाज उड्न नसकेपछि उनलाई विमानस्थलमै राखिएको छ । सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध रुपन्देहीमा पनि मुद्दा परेकाले अनुसन्धानका लागि त्यहाँ जान लागिएको हो । उनको सरकारी वकिलको कार्यालय, भैरहवामा बयान लिइने छ ।
यसैबीच उनी नेतृत्वको दल रास्वपाले रुपन्देहीमा प्रदर्शन गर्ने भएको छ ।सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछाने पक्राउ परेपछि रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ । यसअघि पोखरा र काठमाडौंमा प्रदर्शन गरेको रास्वपाले मंगलबार लुम्बिनी गेट भैरहवामा प्रदर्शन गरिने जनाएको छ ।
लुम्बिनीका सबै जिल्लाका रास्वपाका शुभेच्छुकलाई विहान ११ बजे भैरहवा पुग्न सर्कुलर गरिएको बताइएको छ । यता ठगीमा लामिछानेको नाम मुछिएको बुटवलको सुप्रिम सहकारीका पीडितले पनि आन्दोलनको तयारी गरेका छन् ।


प्रतिक्रिया