काठमाडौं, १७ कार्तिक । दुध किसानले पाउनुपर्ने बक्यौता रकम एक अर्ब ३० करोड रुपैयाँमा झरेको छ । तीन महिनाअघि पाँच अर्ब रुपैयाँ रहेको बक्यौता दशैँ अघिदेखि घट्दै अहिले एक अर्ब ३० करोड रुपैयाँमा झरेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले झण्डै ३० करोड र निजी डेरीहरुले एक अर्ब भुक्तानी गर्न बाँकी छ । सबैजसो किसानले जेठसम्मको भुक्तानी सबै पाएका र त्यसपछिको केही मात्रामा बाँकी रहेको उहाँले बताउनुभयो ।
बजारको प्रक्रियाअनुसार सामान्य अबस्थामा पनि डेरीहरुले किसानले एक डेढ महिनाको भुक्तानी दिन बाँकी रहन्छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तिहार शुरु हुनु अघि नै सार्वजनिक अपिल गर्दै दुध र दुधजन्य वस्तुको प्रयोग बढाउन आम नागरिकलाई अनुरोध गर्नुभएको थियो । अहिले धेरै दुग्धजन्य उत्पादन थन्किएका कारण उपभोग भएमा बक्यौता भुक्तानीमा सहज हुने उहाँको भनाइ छ ।
गर्मी याममा दुधजन्य वस्तुको खपत बढी हुने भएकोले पनि बक्यौता भुक्तानीमा सहज भएको हो । केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमर कुँवरले जाडोयाममा फेरि उत्पादन बढ्ने र खपत घट्ने अवस्था शुरु हुने हुँदा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनुहुन्छ ।
नेपालमा दैनिक ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने गरेको कृषि मन्त्रालयको अनुमान् छ । त्यसको १७ प्रतिशत औपचारिक क्षेत्रमा, ३३ प्रतिशत अनौपचारिक क्षेत्र र बाँकी ५० प्रतिशत घरेलु प्रयोजनका लागि प्रयोग हुने गरेको सरकारी विवरण छ । समग्रमा नेपालमा दैनिक २० करोड रुपैयाँको दूध बिक्री हुने व्यवसायीहरूको दाबी छ ।


प्रतिक्रिया