मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्दा हिनामिना गरेको भन्दै माओवादी महावीर समूहका नेताको हत्या

चन्दा हिनामिना गरेको भन्दै माओवादी महावीर समूहका नेताको हत्या

न्यूजस्टोरी

कपिलवस्तु । कपिलवस्तुमा नेकपा (माओवादी) महावीर समूहका नेताको हत्या भएको छ । नेकपा (माओवादी) महावीर समूहमा संलग्न ‘परिवर्तन’ उपनामका ४५ वर्षीय दिनेश भन्ने जयप्रकाश यादवको हत्या भएको हो । उनी कपिलवस्तु इलाका नम्बर १० विजयनगर गाउँपालिकाको इलाका इञ्चार्ज रहेको प्रहरीले जानकारी दिएको छ ।

उनी कपिलवस्तु नगरपालिका–१० तेनुवाका हुन् । उनको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनको हत्या आरोपमा सोही पार्टीको जिल्ला सेक्रेटरी बताउने ४७ वर्षीय रमेश श्रेष्ठ र जिल्ला महिला विभाग प्रमुख ४७ वर्षीया मनकला थारू पक्राउ परेका छन् । थारू २०८० फागुनदेखि यस समूहमा लागेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एवं एसपी निरन्जन भट्टका अनुसार दिनेशको आइतबार (कात्तिक ४ गते) राति पौने ९ बजे विजयनगर गाउँपालिका–२ खडैचा भैंसीघाटमा एक जनाको शव फेला परेको थियो । चिरइखोलाको किनारामा एक जना पुरूषको शव कम्मरदेखि माथिको भाग बालुवाले पुरिएको अवस्थामा फेला परेको थियो । शवको पहिचान हुन सकेको थिएन । 

शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरे । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट डिएसपी मोहनमणि अधिकारी र इप्रका गणेशपुरबाट प्रहरी निरीक्षक हर्षबहादुर चन्दको टोली खटिएको थियो। शव हेर्दा सडिगलिसकेको  र शंकास्पद देखिएको थियो। 

प्रहरीले शवको पहिचान र घटनाको अनुसन्धानका लागि प्राविधिक सहायता र विभिन्न व्यक्तिहरूसँग सोधपुछ गरेको एसपी भट्टले बताए ।  ‘मृतक भूमिगत हिसाबले हिँडेका व्यक्ति रहेछन् । प्राविधिक हिसाबले अनुसन्धान अघि बढायौं । पहिचान गर्न विभिन्न व्यक्तिहरूसँग सोधपुछ पनि गर्‍यौं,’ उनले सुनाए, ‘अनुसन्धानकै क्रममा दुई जनालाई पक्राउ गरेपछि घटनाबारे थप खुलेको हो ।’

उनका अनुसार यस घटनाका मुख्य योजनाकार रमेश श्रेष्ठ हुन् । यस्तै मनकला पनि यस घटनामा प्रत्यक्ष रूपमै जोडिएका छन् । प्रहरीको प्रारम्भिक सोधपुछमा उनीहरू माओवादीको महावीर समूहमा संलग्न पाइएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबाट अलग भएर महावीर समूह बनेको प्रहरीको भनाइ छ । उनीहरू तीनै जनाले ‘केन्द्रीय निर्देशन’ भन्दै कपिलवस्तुमा चन्दा उठाउने काम गर्दै आएका थिए ।

कपिलवस्तुमा यो समूहले १० वटा इलाका विभाजन गरेको थियो । जसमध्ये १० नम्बर इलाकाको क्षेत्रीय इन्चार्जको रूपमा दिनेशले जिम्मा पाएका थिए । अवैध रूपमा चन्दा असुली गर्नका लागि खटाइएका उनले चन्दा असुली त गरे तर उक्त रकम हिनामिना गरी पार्टीलाई हिसाब किताब नै बुझाउन इन्कार गरेको बयानका क्रममा रमेशले भनेका छन् ।

कात्तिक २ गते रमेश, गीतासहित अन्दाजी ९/१० जना घटनास्थलमा भेला भएका थिए । त्यहाँ उनीहरूले धारिलो हतियार चक्कु र सिमेन्टको खम्बाले दिनेशको टाउकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानमा देखिएको छ  ।  हत्यापछि खोलामा लगेर बालुवाले शव पुरेर घटनास्थलबाट फरार भएका थिए ।