मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुम्बु क्षेत्र पर्यटकले भरिभराउ, लुक्लामा एकैदिन २ सय उडान

खुम्बु क्षेत्र पर्यटकले भरिभराउ, लुक्लामा एकैदिन २ सय उडान

न्यूजस्टोरी

काठमाडौं ।  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्र पदयात्रामा आएका पर्यटकले भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन २ सय उडान भएका छन् । 

नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख उमेश पन्थीका अनुसार मङ्गलबार रामेछापको मन्थली र काठमाडौंबाट १ सय ९८ वटा उडान भएका हुन् । हवाईजहाजले ६१ र हेलिकोप्टरले एक सय ३९ उडान भरेका छन् । उक्त दिन १  हजार ५ सय ३९ जना पर्यटक  खुम्बु भित्रिएका छन् ।

हवाईजहाजबाट १ सय ६७ स्वदेशी र ६ सय ६७ जना विदेशी गरी ८ सय ४ तथा हेलिकोप्टरबाट ६ सय ९५ पर्यटक लुक्ला ओर्लिएका उनले बताए । पर्यटक आगमनको याम  सुरु भएकाले उडान सङ्ख्या अझै बढ्ने पन्थीले जानकारी दिए ।

यद्यपि पर्यटक लिएर काठमाडौं र रामेछापको मन्थलीबाट आएका विमान प्रायः रित्तै फर्कने गरेका छन् । लुक्ला आउने पर्यटकको चाप हुने भएकाले फर्कनेको सङ्ख्या न्यून हुने गरेको तारा एयरलाइन्सका अमृत मगरले बताए । 

पदयात्राको याम सुरु भएसँगै पर्यटन व्यवसायीसमेत उत्साहित बनेको नाम्चेका व्यवसायी लामाकाजी शेर्पाले बताए । उनले भने, ‘अहिले हामीलाई पाहुनाको सत्कारमा भ्याइनभ्याइ छ ।’ 

पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, तेङ्बोचेलगायत ठाउँका होटल व्यवसायी पर्यटकको स्वागत सत्कारमा व्यस्त छन् । त्यस क्षेत्रका बाटो, चौतारा तथा होटल, लज पर्यटकले नै भरिभराउ छन् । सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्ने व्यवस्था रहेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका सूचना अधिकारी मनोजकुमार मण्डलले बताए । 

२०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज १ हजार १ सय ४८ वर्गकिमी क्षेत्रफलमा फैलिएको छ । निकुञ्जभित्रको गोक्यो ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको सूचना अधिकारी मण्डलले जानकारी दिए । 

सन् १९७९ देखि निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । निकुञ्जमा कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मुनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग पाइन्छन् ।  

निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने मानिसको संख्या ३ हजारभन्दा बढी रहेको संरक्षण अधिकृत मण्डलले बताए ।