काठमाडौं । आज असोज २२ गते मंगलवारदेखि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिने भएको छ । मेलम्चीका सङ्घर्ष समिति र खानेपानी मन्त्री प्रदीप यादवबीच सोमवार भएको वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएको हो ।
मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर सङ्घर्ष समिति एवं त्यहाँका सरोकार पक्षसँग वार्ता गरेका थिए । दशैँ अगाडि काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि सोमवार मेलम्ची पुगेको थियो ।मन्त्री यादवसहितको टोली र मेलम्चीका सङ्घर्ष समितिबीच पानी काठमाडौंमा लैजाने विषयमा भएको वार्तामा सङ्घर्ष समितिले राखेका जायज मागहरूलाई सम्बोधन गरिने सहमति भएपछि आजदेखि मेलम्चीको पानी काठमाडौं आउने भएको हो ।
सहमतिपछि मन्त्री यादवले भनेका छन्– ‘मेलम्ची क्षेत्र पुगेर स्थानीय जनप्रतिनिधि र सङ्घर्ष समितिका पदाधिकारीसँग छलफल गरेर मेलम्ची नदीको पानी काठमाडौं उपत्यकामा पथान्तरण गर्न सहमति गरेका छौँ । सहमतिसँगै मनसुनका कारण बन्द रहेको मेलम्ची नदीको पानी काठमाडौं उपत्यकामा पथान्तरण गर्ने प्रक्रिया मंगलवादेखि सुरु हुनेछ । छलफलका क्रममा हेलम्बु गाउँपालिकाका जनप्रतिनिधिहरूले देखाउनु भएको सकारात्मक सहयोग र सहकार्यप्रति आभार व्यक्त गर्न चाहन्छु । स्थानीय विकास र बाढीपीडितहरूको समस्याको समाधान गर्दै काठमाडौं उपत्यकावासीलाई बाह्रै महिना स्वच्छ र सफा पानी उपलब्ध गराउने प्रतिबद्धतामा म दृढ छु ।’


प्रतिक्रिया