मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकामा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने

अमेरिकामा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने

न्यूजस्टोरी

काठमाडौं, ५ असोज । अमेरिकामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्र सङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा साइडलाइनमा नेपाल र भारतका प्रधानमन्त्रीबीच वार्ता हुने तय भएको हो । द्विपक्षीय भेटवार्ताको लागि नेपालले अघिल्लो हप्ता नै प्रस्ताव गरे पनि भारतले जवाफ दिएको थिएन ।

गएराति प्रधानमन्त्री ओली न्यूयोर्क पुग्नुभन्दा केही समयअघि भारतीय पक्षले मोदी द्विपक्षीय भेटवार्ताको लागि तयार रहेको जानकारी दिएको हो । न्युयोर्कको स्थानीय समयअनुसार आइतवार बेलुका साढे ५ बजे ओली र मोदीबीच भेटवार्ता हुने छ ।

भारतीय प्रधानमन्त्री मोदी अमेरिकाको विल्मिङटनमा हुने अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड राष्ट्रका नेताहरुको समिटमा भाग लिन जानुभएको हो । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नुभएको छ ।

ओली र मोदीबीच यसअघि नै थाइल्यान्डमा हुने भनिएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनका बेला साइडलाइनमा भेटवार्ता हुने कार्यक्रम तय गरिएको थियो । तर भदौ १८ र १९ मा हुने भनिएको सम्मेलन थाइल्यान्डको नयाँ राजनीतिक घटनाका कारण स्थगित भयो ।

त्यसपछि अब न्यूयोर्कमा भेटवार्ता हुने भएको हो । ओली पहिलो र दोस्रोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमणबाटै विदेश यात्रा शुरु गर्नुभएको थियो । यस पटक अमेरिकाबाट विदेश भ्रमण शुरु गर्नुभएको हो । यस पटक प्रधानमन्त्री भएपछि भारतबाट भ्रमणको निम्तो आएको छैन ।

प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री राणाको भारत भ्रमणको क्रममा मोदीलाई नेपाल भ्रमणको औपचारिक रुपमा निमन्त्रणा पठाउनुभएको छ । परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नुभएको थियो । त्यो भेटमा पनि भारतले नेपाली प्रधानमन्त्रीलाई भ्रमणको निम्तो नदिनुलाई महत्त्वका साथ हेरिएको छ ।