मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अविरल वर्षासँगै सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित

अविरल वर्षासँगै सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित

न्यूजस्टोरी

काठमाडौं, २९ भाद्र । लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र पहिरोले जनजीवन प्रभावित भएको हो । हिजो बिहानदेखि नै सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । वर्षासँगै कर्णाली, महाकाली लगायतका नदी तथा ती नदीका सहाक नदी र खोलामा पानीको बहाव बढेको छ ।

पछिल्लो २४ घण्टामा डडेल्धुराको साहुखर्कमा दुई सय ६६ र जोगबुढामा दुई सय ४० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । यस्तै कैलाली, कन्चनपुर, डोटी लगायतका जिल्लामा पनि २४ घण्टामा एक सय ५० मिलिमिटरभन्दा धेरै पानी परेको छ । कैलालीको चिसापानीमा कर्णाली नदीको पानीको सतह १० दशमलव आठ मिटर पुगेको छ ।

यस्तै डडेल्धुराको पारिगाउँमा महाकाली नदीको पानीको सतह आठ दशमलव ७१ मिलिमिटर पुगेको छ । यी दुवै केन्द्रले खतराको घण्टी बजाएका छन् । यस्तै महाकाली नदीले कञ्चनपुर र बबइ नदीले बर्दियामा खतराको तह पार गरेका छन् । कैलालीका विभिन्न ठाउँमा आएको बाढीका कारण ९९ परिवारका चार सय ४४ जनालाई सुरक्षीत स्थानमा सारेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध छ ।

यस्तै केआई सिंह राजमार्ग पनि अवरुद्ध भएको छ । बाढी पूर्वानुमान् महाशाखाले धेरै वर्षा भएका कारण कैलाली, कञ्चनपुर, डडेल्धुरा र डोटीका साना ठूला नदी तथा खोलामा बाढीको जोखिम रहेको जनाएको छ । पछिल्लो एक घण्टादेखि भने सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा वर्षा रोकिएको छ ।

मौसम पूर्वानुमान् महाशाखाले आजराति पनि सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना रहेको जनाएको छ । भोलिदेखि भने सुदूरपश्चिम प्रदेशमा मुसल्धारे वर्षा रोकिने र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।