पाकिस्तानमा मनसुनी वर्षाका कारण २४ घण्टामा ६३ जनाको ज्यान गएको छ । बुधवार बिहानदेखि शुरू भएको मुसलधारे वर्षापछिको २४ घण्टामा पन्जाब प्रान्तमा कम्तीमा ६३ जनाको ज्यान गएको र दुई सय ९० जना घाइते भएका बीबीसीले जनाएको छ ।
पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार धेरैजसो व्यक्तिको ज्यान घर भत्किएर गएको हो । यस्तै केही मानिसको डुबेर र करेन्ट लागेर ज्यान गएको छ ।
राजधानी इस्लामाबाद नजिकै रहेको अर्को ठूलो शहर रावलपिन्डीका मानिसहरूलाई घरमै बस्न आज सार्वजनिक बिदा दिइएको छ । बाढी आएका नदीको छेउछाउ बस्ने मानिसहरूलाई सुरक्षित ठाउँमा अधिकारीहरूले आग्रह गरेका छन् ।
यसैबीच बाढीका कारण पञ्जाबभरि धेरै एक्सप्रेसवेहरू बन्द भएका छन् र दर्जनौं उडानहरू रद्द वा ढिलाइ भएका छन् ।
गएको जुन महिनामा मनसुन शुरू भएपछि पाकिस्तानमा वर्षाका कारण झन्डै एक सय ८० जनाको ज्यान गएको छ । तीमध्ये आधाभन्दा धेरै बालबालिका रहेका खबरमा उल्लेख छ ।


प्रतिक्रिया