मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इरानको आकाशमाथि आफ्नो पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी

इरानको आकाशमाथि आफ्नो पूर्ण नियन्त्रण रहेको इजरायलको दाबी

न्यूजस्टोरी

इजरायलले इरानको आकाशमाथि आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरेको छ । इजरायली सेनाका प्रवक्ताले इरानमाथि पूर्ण हवाई नियन्त्रण हासिल गरेको बताएका बीबीसीले जनाएको छ ।

इजरायलले इरानको एक तिहाइ मिसाइल प्रक्षेपण यन्त्र नष्ट गरेको ब्रिगेडियर जनरल एफी डेफ्रिनले मिडिया ब्रिफिङ्गका क्रममा बताउनुभयो । इजरायलले आफ्नो वायुसेनाले रातभरि आक्रमणको लहर चलाएको बताएको छ भने इरानी मिडियाले देशको पश्चिममा नयाँ आक्रमणहरू शुरू भएको उल्लेख गरेका खबरमा उल्लेख छ । यस्तै इरानले राति इजरायलमा क्षेप्यास्त्र प्रहार गर्दा केही आइरन डोम प्रतिरक्षा प्रणालीमा प्रवेश गरेको बताएको छ ।

शुक्रवारयता इजरायलमा ज्यान गुमाउनेको सङ्ख्या २४ पुगेको छ । इरानको स्वास्थ्य मन्त्रालयले शुक्रवारयता इजरायली आक्रमणमा कम्तीमा २ सय २४ जनाको ज्यान गएको बताएको छ ।

यसैबीच चीनले इरान र इजरायललाई तनाव कम गर्न तुरुन्तै कदम चाल्न आग्रह गरेको छ । इरानले इजरायली शहरहरूमा मिसाइल आक्रमणको वर्षा गरेपछि र इजरायलले इरानभित्र गहिरो सैन्य लक्ष्यहरूमा प्रहार गरेपछि चीनले दुवै देशलाई तनाव कम गर्न आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दुवै देशलाई ठूलो अशान्तिमा डुब्नबाट रोक्न र वार्तालापमार्फत समस्या समाधानको सही बाटोमा फर्कने अवस्था सिर्जना गर्न आग्रह गर्नुभएको छ ।

इरानसँग चीनको घनिष्ठ सम्बन्ध छ । चीन इरानको सबैभन्दा ठूलो व्यापारिक साझेदार र यसको तेलको मुख्य खरिददाता हो ।

अन्तर्राष्ट्रिय नेताहरूले तनाव कर्म गर्न आग्रह गरे पनि मध्यपूर्वलाई समेट्न सक्ने लामो द्वन्द्वको डर उत्पन्न गर्दै इजरायल र इरानले यति तीव्रताका साथ आक्रमण बढाएको यो पहिलो पटक हो । रुस–युक्रेन, इजरायल–हमास युद्ध चलिरहेका बेला इरान र इजरायलबीच पनि द्वन्द्व बढेपछि विश्वकै आर्थिक र राजनीतिक सङ्कट थप चुलिने चिन्ता थपिएको छ ।