कागजपत्र नभएका हजारौं आप्रवासीलाई ग्वान्टानामो बे हिरासत केन्द्रमा पठाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्प प्रशासनले कागजपत्र नभएका कम्तीमा नौ हजार आप्रवासीलाई चाँडोमा यसै हप्तासम्ममा ग्वान्टानामो बे पठाउन चाहिरहेको खबरमा उल्लेख छ ।
सयौं युरोपेलीहरू पनि समावेश हुने गरी आप्रवासीलाई उनीहरूको देश फर्काउनुअघि क्युबास्थित अमेरिकी नौसैनिक अखडामा छोटो समयावधिका लागि राखिने छ ।
गएको जनवरीमा राष्ट्रपति ट्रम्पले ग्वान्टानामो बे को हिरासत केन्द्रलाई विस्तार गर्न आदेश दिनुभएको थियो । त्यहाँ अहिले पाँच सय जना रहेकोमा ३० हजारसम्म राख्ने लक्ष्य छ ।
अमेरिकाले सञ्चालन गरेका अति महँगा सैनिक अखडामध्ये ग्वान्टानामो बे एउटा हो र यो सम्भवतः सबैभन्दा विवादित पनि रहेको बीबीसीले उल्लेख गरेको छ ।
सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणका आरोपितहरुलाई राखिएपछि यो हिरासत केन्द्र विवादित भएको थियो ।
पूर्व राष्ट्रपति बाराक ओबामासहित विभिन्न डेमोक्रेटिक राष्ट्रपतिले ग्वान्टानामो हिरासत केन्द्र बन्द गराउने वाचा गरे पनि त्यो वाचा पूरा हुन सकेन ।
क्युबाका राष्ट्रपति मिगेल डिआस कानेलले ट्रम्पको योजनालाई ‘अमानविय कार्य’ भन्दै आलोचना गर्नुभएको छ ।


प्रतिक्रिया