मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा बेङ्गलुरुको विजय उत्सवमा भागदौड मच्चिँदा ११ जनाको ज्यान गएको पुष्टि

भारतमा बेङ्गलुरुको विजय उत्सवमा भागदौड मच्चिँदा ११ जनाको ज्यान गएको पुष्टि

न्यूजस्टोरी

भारतमा आईपील क्रिकेटको उपाधि विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) को स्वागत समारोहमा भागदौड मच्चिँदा ११ जनाको ज्यान गएको छ ।

बेङ्गलुरुको चिन्नास्वामी रङ्गशाला बाहिर भागदौड हुँदा ११ जनाको ज्यान गएको र अरु धेरै जना घाइते भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

१८ वर्षमा पहिलो पटक आईपीएल ट्रफी जितेको टोलीलाई स्वागत गर्न हिजो युवा, महिला, बालबालिका र वृद्धवृद्धाहरूसहित लाखौं मानिसहरू सडकमा आएका थिए ।

यही क्रममा रङ्गशालाको गेटमै भागदौड भएको थियो । रङ्गशालाका मुख्य ढोकाहरू नखुलेका कारण धेरै मानिसहरूले सानो ढोकाबाट भित्र पस्ने प्रयास गर्दा भागदौड मच्चिएको प्रहरीको भनाइ छ ।

त्यहाँको घटनाबारे सार्वजनिक भएका तस्वीरहरुमा अनियन्त्रित भीडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको देख्न सकिन्छ ।

कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले सबैलाई आफ्नो सुरक्षाको ख्याल राख्न अपिल गर्नुभएको छ । बेङ्गलुरुको टोलीलाई सम्मान गर्नका लागि बेङ्गलुरु विधानसभा भवनमा कार्यक्रमको आयोजना गरिएको थियो ।

अस्ति मङ्गलवार राति भएको आईपीएलको फाइनलमा बेङ्गलुरुले पन्जाब किङ्ग्सलाई ६ रनले पराजित गरेको थियो ।