मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उच्च तापक्रमका कारण खाडीमा विदेशी कामदार जोखिममा

उच्च तापक्रमका कारण खाडीमा विदेशी कामदार जोखिममा

न्यूजस्टोरी

खाडीमा विदेशी कामदारहरू अत्यधिक गर्मीका कारण जोखिममा रहेका छन् । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ‘ह्युमन राइट्स वाच’ (एअचारडब्ल्यू) ले बढ्दो तापक्रममा काम गर्नुपर्ने श्रमिकहरूलाई यसबाट सुरक्षा प्रदान गर्न देशहरूलाई आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

पृथ्वीको सबैभन्दा तातो क्षेत्रहरूमध्ये एक मानिने मध्यपूर्वका संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार र कुवेतमा आप्रवासीहरूले श्रमशक्तिको ठूलो हिस्साको प्रतिनिधित्व गर्छन् । यहाँ ग्रीष्मकालीन तापमान प्रायः ५० डिग्री सेल्सियससम्म पुग्छ ।

ह्युमन राइट्स वाचका मध्यपूर्वका उपनिर्देशक माइकल पेजले खाडी देशहरूले प्रमाणमा आधारित श्रम सुरक्षामा पछि हटिरहेका र सम्भावित सुरक्षा उपायलाई अवलम्बन नगरिँदा आप्रवासी कामदारहरूले अनावश्यक रूपमा ज्यान गुमाउने गरेका बताउनुभएको छ । रोजगारदाता देशहरूले यस मौसमजन्य समस्यामा असावधानी देखाइदिँदा कामदारहरू मिर्गौला फेल हुने र अन्य दीर्घरोगबाट पीडित हुने गरेका उहाँले बताउनुभयो ।

धनी खाडी देशहरू विशेषगरी निर्माण क्षेत्रमा काम गर्ने लाखौं आप्रवासी कामदारहरूमा अत्यधिक निर्भर छन् र त्यहाँ निर्माण क्षेत्रमा काम गर्ने अत्यधिक श्रमिक नेपाल, भारत, पाकिस्तानलगायतका एशियाली देशका रहेका छन् ।

गएको महिना यूएईमा लगातार दोस्रो दिन मे महिनाको तापक्रम ५१ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो । कामदारहरूको सुरक्षाका लागि देशहरूले लामो समयदेखिको ‘मध्याह्न ब्रेक’ नीतिको एक भागका रूपमा मध्य जुनदेखि मध्य सेप्टेम्बरसम्म प्रत्यक्ष सूर्यको प्रकाश र तातो चल्ने क्षेत्रमा अत्यधिक गर्मीको समयमा काम गर्न प्रतिबन्ध लगाएका छन् ।

तर खाडी विशेषगरी जलवायु परिवर्तनको जोखिममा रहेकाले एचआरडब्ल्यूले यी अत्यधिक गर्मीको अवस्था आजभोलि दिउँसो आराम गर्न दिने समय शुरू हुनुभन्दा पहिले मे महिनादेखि नै शुरू हुन थालेको बताएको छ ।