युरोपेली सङ्घ (ईयू) ले रुसविरुद्ध कूटनीतिक र आर्थिक दबाब जारी राख्ने जनाएको छ । शान्तिका लागि तयार नभएसम्म रुसी राष्ट्रपति पुटिनमाथि दबाब बढाइरहने ईयूका प्रमुख उर्सुला भोन डर लेयनले बताउनुभएको छ ।
उहाँले रुसविरुद्ध १८औं प्रतिबन्ध प्याकेजको तयारी शुरू भइसकेको समेत जानकारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अल्बानियाको तिरानामा आयोजित युरोपेली नेताहरूको भेलामा पत्रकारसँग लेयनले भन्नुभएको छ ‘हामी शान्ति चाहन्छौँ र शान्तिको मार्गतर्फ अघि बढ्न सबैले आवश्यक पहल गर्नुपर्छ ।’
ईयूले यसैहप्ता १७ औं प्रतिबन्ध प्याकेज पारित गरिसकेको छ, जसअन्तर्गत रूसद्वारा प्रयोग गरिँदै आएका झन्डै दुई सय तेल ट्याङ्करहरूलाई प्रतिबन्धको सूचीमा राखिएको छ ।
रुस र युक्रेनबीच हिजो टर्किएको राजधानी इस्तानबुलमा प्रत्यक्ष वार्ता भयो । वार्ता सकारात्मक भएको दुवै पक्षले जनाएका छन् । रुस र युक्रेनले एकरएक हजार युद्धबन्दी रिहा गर्ने सहमति समेत गरेका छन् ।
युक्रेनी पक्षले दुई देशका राष्ट्रपतिबीच सोझै छलफल हुनुपर्ने शर्तसमेत राखेको छ । यो वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहभागी हुनुभएन ।
वार्ताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिन र आफूसँगै नभएसम्म दुई देशको शान्ति वार्तामा कुनै प्रगति नहुने समेत बताउनुभएको थियो ।
सन् २०२२ को फेब्रुअरी २४ तारिखमा रुसले युक्रेनमाथि आक्रमण शुरू गरेको थियो । त्यसयता दुई देशबीचको लडाइँ रोकिएको छैन ।


प्रतिक्रिया