मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय आक्रमणको जवाफ दिने पाकिस्तानको निर्णय

भारतीय आक्रमणको जवाफ दिने पाकिस्तानको निर्णय

न्यूजस्टोरी

पाकिस्तानले भारतीय आक्रमणको जवाफ दिने भएको छ । पाकिस्तानको राष्ट्रिय सुरक्षा समिति बैठकले भारतले गएराति थालेको क्षेप्यास्त्र आक्रमणलाई जघन्य अपराध भन्दै जवाफ दिने निर्णय गरेको हो ।

बैठकले पाकिस्तानी सार्वभौमसत्तामाथि भारतले धावा बोलेको निष्कर्ष निकाल्दै आक्रमणको निन्दा गरेको छ । संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ५१ उद्धृत गर्दै पाकिस्तानले आफ्नो प्रतिरक्षा गर्न पाउने अधिकार आफूसँग भएको बताएको छ । पाकिस्तानका सैन्य बलहरूलाई भारतलाई जवाफ दिने गरी कारबाही गर्न पाउने अधिकार दिइएको पाकिस्तानले बताएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफको अध्यक्षतामा बैठक बसेको बीबीसीले जनाएको छ । समितिको बैठकपछि प्रकाशित विज्ञप्तिमा पाकिस्तानले पाँच वटा भारतीय लडाकू विमान र ड्रोन खसालिदिएको दाबी गरेको छ । पाकिस्तानी भूमिमा आतङ्ककारीहरूका शिविर भएको भारतीय आरोपको पाकिस्तानले फेरि खण्डन गरेको छ ।

यस्तै पाकिस्तानले इस्लामाबादमा रहेको भारतीय कूटनीतिक नियोगका उपप्रमुखलाई बोलाएर विनाउक्साहट भारतबाट पाकिस्तानी भूमिमा हवाई हमला भएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

भारतले पाकिस्तानी भूमिमा सैन्य कारबाही थालेपछि दुवै देशले एकअर्कालाई विभिन्न आरोप लगाएका छन् । दुवै पक्षका सेनाबीच सीमावारपारि गोलाबारी पनि भएको छ ।

भारतीय सेनाले आफ्नो भूमिमा कम्तीमा १० जना सर्वसाधारणको ज्यान गएको जनाएको छ । यस्तै पाकिस्तानी सेनाले भारतीय आक्रमणबाट २६ जना सर्वसाधारण मारिएका दाबी गरेको छ । मारिनेमध्ये १० जना आफ्नो परिवारका सदस्य र चार जना निकट सहयोगी रहेका संयुक्त राष्ट्रसङ्घले आतङ्ककारी भनेको पाकिस्तान निवासी मौलाना मसुद अजहरले बताएका छन् ।

भारतले अहिले पाकिस्तानी भूमिमा थालेको सैन्य कारबाहीलाई ुअपरेशन सिन्दूरु नामकरण गरेको छ । आफूले पाकिस्तानका सैन्य स्थललाई नभई आतङ्ककारीहरूका थलोलाई लक्ष्य गरेको दाबी भारतको रहेको छ ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पानी भारतकै लाभका लागि जोगाइने घोषणा गर्नुभएको छ । तर यसो भन्दा उहाँले पाकिस्तानसँगको तनावको प्रसङ्ग भने निकाल्नुभएन ।

यस्तै भारत सरकारले आज देशभरि सिभिल डिफेन्स पूर्वाभ्यास (मक ड्रिल) गरेको छ । विद्यालयमा पढ्ने बालबालिकालाई पनि कार्यक्रममा सहभागी गराएको बीबीसीले जनाएको छ । गृह मन्त्रालयले यस्तो पूर्वाभ्यासका लागि अस्ति सोमवार नै निर्देशन दिएको थियो ।