मकवानपुर । मकवानपुरमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ । बुधबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ चौकीटोलकी ३५ वर्षीया गुडिया दासको हत्या भएको हो ।
बुधबार बेलुका ९ बजे उनी आफ्नै घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् । उनको टाउकोमा धारिलो हतियार प्रहार भएको देखिने चोट रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन् । उनका अनुसार राति मृत भेटिएको घरमा दिउँसै प्रहरी पुगेको थियो ।
दिउँसो करिब ४ः१० बजे सोही घरका २८ वर्षीय रूपेश दासमाथि उनकै भाइ २२÷२३ वर्षका राहुल भन्ने रमेश दासले खुकुरी प्रहार भएको खबर प्रहरीले पाएको थियो । त्यसपछि उक्त घरमा प्रहरी पुग्दा रूपेसको टाउको, दाहिने हात, करङलगायतका भागमा खुकुरी प्रहार भएको गम्भीर घाइते अवस्थामा भेटिएका थिए । उनका भाइ रमेशलाई प्रहरीले धारिलो हतियारसहित सोही स्थानबाट पक्राउ गरेको थियो । गम्भीर घाइते रूपेशलाई अस्पताल पठाएर रमेशलाई जिल्ला प्रहरी कार्यालय पुर्याइएको थियो ।
तर राति ९ बजे गुडिया घरकै दोस्रो तल्लामा मृत भेटिएको भन्ने सूचना पाएपछि प्रहरी पुनः सोही घरमा गएको थियो । डिएसपी अर्यालका अनुसार प्रहरी पुग्दा दोस्रो तल्लामा गुडिया मृत भेटिएकी थिइन् । उनी रुपेश र रमेशका जेठी भाउजु हुन् । राहुल दासले घरायसी विवादको कारण खुकुरी प्रहार गरी भाउजूको हत्या गरेका हुन् । खुकुरी प्रहार गर्ने राहुललाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
प्रतिक्रिया