बर्दिया । बर्दियामा आफ्नै सालीको हत्याको आरोपमा भिनाजु र भिनाजुको बुहारी पक्राउ परेका छन् । ठाकुरबाबा नगरपालिका–१ की राधा बोहोराको हत्या आरोपमा सोही स्थान निवासी भिनाजु नाता पर्ने ६९ बर्षीय शान्तबहादुर खत्री र उनकी बुहारी २४ बर्षीया उमाकुमारी खत्री पक्राउ परेका हुन् ।
गत फागुन ४ गते ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँमा बाहिरबाट ताला लगाएको अवस्थामा आफू बस्दै आएको घरमा राधा बोहोराको लाश फेला परेको थियो । प्रहरीले लाश फेला पारेपछि तालिम प्राप्त कुकुरसहित अनुसन्धान गरेको थियो ।
हत्यामा संलग्न भएको पुष्टि भएपछि बर्दिया अदालतबाट पक्राउ पुर्जी जारी गरी उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्ती मगरले बताए । हालसम्म लेनदेन र घरायसी दुष्मनीको कारणले हत्या भएको भन्ने अनुसन्धानमा खुल्न आएको उनले बताए। घटना कहिले र के कसरी भएको भन्ने अनुसन्धानको क्रममा रहेको प्रहरी नायब उपरीक्षक घर्ती मगरले बताए । मृतक बोहोराको शव घरको सुत्ने कोठामा बाँसको खाँबोमा बाँधेको अवस्थामा फेला परेको थियो ।


प्रतिक्रिया