प्युठान । प्युठानमा घरभित्रै मृत भेटिएका दम्पतीको घन प्रहार गरी हत्या भएको खुलासा भएको छ । माण्डवी गाउँपालिका–२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घरभित्र मृत भेटिएका थिए ।
प्यूठानका प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले परियार दम्पतीमाथि घन प्रहार भएको पुष्टि भएको जानकारी दिएका छन् । हत्यामा प्रयोग भएको घन रगत लतपतिएको अवस्थामा घटना भएको घरदेखि ५० मिटर पूर्वस्थित बारीमा भेटिएको डिएसपी बस्यालले जानकारी दिए । शनिबार दिउँसो १२ बजेसम्म पनि घरको ढोका नखोलेपछि रामबहादुरका छिमेकी उनलाई बोलाउन गएका थिए । ढोका ढकढकाएर बोलाउँदा नबोलेपछि ती छिमेकीले ढोकाबाटै चिहाएर भित्र हेरेका थिए ।
उनीहरू मृत देखेपछि प्रहरीमा खबर भएको थियो । डिएसपी बस्यालले दुवै मृतकको शरीर र टाउकोमा गम्भीर घाउ खतहरु देखिएको बताए । घटना अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर झिकाइएको तथा केहीलाई सोधपुछ भइ रहेको डिएसपी बस्यालले बताए । डिएसपी वस्यालका अनुसार त्यो घरमा बुढाबुढी मात्रै थिए । उनीहरुका चार छोरा भारतमा बस्छन् । दुई छोरी बिबाह भई दाङ बस्छन् ।


प्रतिक्रिया