काठमाडौं, २७ पुस । नेपालको राहदानी अर्थात् पासपोर्टको स्तर अघिल्लो वर्षभन्दा खस्किएको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ ले हरेक वर्ष सार्वजनिक गर्ने राहदानी सूचकाङ्कको विश्व वरीयतामा नेपाल एक सय एकऔँ स्थानमा रहेको छ ।
सन् २०२४ को जनवरीमा नेपाल ९८ औँ स्थानमा थियो । नेपालको राहदानीले भिसा बिना ३९ देशमा यात्रा गर्न सकिन्छ । छिमेकी भारतको वरियतामा पनि पाँच अङ्कले घटेको छ । यसवर्ष सन् २०२५ को सूचीमा भारत ८५ नम्बरमा छ । अघिल्लो वर्ष भारतको वरीयता ८० औँ रहेको थियो ।
सन् २०२५ को राहदानी सूचकाङ्कमा सिङ्गापुर विश्वमै शीर्ष स्थानमा परेको छ । उसको राहदानीले एक सय ९५ देशमा भिसा–मुक्त पहुँच सुविधा प्रदान गर्छ ।
दोस्रो स्थानमा जापान रहेको छ, जसको राहदानीले एक सय ९३ देशमा बिना भिसा जान सकिन्छ । तेस्रो स्थानमा फ्रान्स, जर्मनी, इटाली र स्पेन रहेका छन् । अमेरिका नवौँ नम्बरमा छ । उसको राहदानीले एक सय ८६ देशमा भिसा फ्री यात्रा गर्न सकिन्छ ।
द न्युज इन्टरनेशनलका अनुसार पासपोर्ट र्याङ्किङले त्यहाँका नागरिकको अवस्था र देशको कूटनीतिक सम्बन्धलाई उजागर गरेको छ ।
रिपोर्टअनुसार पाकिस्तानी राहदानी विश्वव्यापी रूपमा सबैभन्दा खराब छ । पाकिस्तानको राहदानी सोमालियाको भन्दा पनि खराब छ ।
त्यस्तै अफगानिस्तान, इराक, सिरियालगायत देशको राहदानी पनि विश्वमा कमजोर राहदानीमध्येमा परेको छ ।
प्रतिक्रिया