मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्चमा आज दुई इजलास, राज्यमन्त्री चौधरीको योग्यताको छिनोफानो हुँदै

सर्वोच्चमा आज दुई इजलास, राज्यमन्त्री चौधरीको योग्यताको छिनोफानो हुँदै

न्यूजस्टोरी

काठमाडौं । सर्वोच्च अदालतमा आज (बुधबार) दुईथरी संवैधानिक इजलास गठन गरिएका छन् । ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विवाद र नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको योग्यता विवादको सुनुवाइ गर्न दुई वटा इजलास गठन गरिएका हुन् । चौधरी ओली सरकारमा पर्यटन राज्यमन्त्री छन्।

५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति विवाद न्यायाधीश कुमार रेग्मीले हेर्न नमिल्ने भएपछि दुई वटा इजलास गठन गरिएको सर्वोच्च प्रशासनले जनाएको छ । एउटा इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन् ।

अर्को इजलासमा न्यायाधीश कुमार रेग्मी छैनन् । उनको सट्टामा न्यायाधीश नहकुल सुवेदी छन् । रेग्मी संलग्न रहेको इजलास यसअघिकै निरन्तरता हो । यसअघि गत मंसिर १९ गते सुनुवाइ सकिएको नागरिक उन्मुक्ति पार्टीका सांसद एवं पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीको योग्यता विवादमा सुनुवाइ सकेर आज निर्णय सुनाउने भनिएको थियो ।

अधिवक्ता वसन्त जोशीले फौजदारी कसुरमा सजाय ठहर भएका चौधरीको सांसदको उम्मेदवार बन्न योग्यता नपुग्ने भएकाले उनी निर्वाचित भएको भन्ने निर्वाचन आयोगको घोषणा बदर हुनुपर्ने मागसहित रिट दायर गरेका थिए । चौधरीले निर्वाचनमा उम्मेदवारी दिँदा आफूमाथि कुनै पनि फौजदारी अभियोग नभएको र कैद तथा जरिवाना कुनै अड्डा अदालतमा कैद तथा जरिवाना बक्यौता नरहेको भनी घोषणा गरेका थिए । उक्त अनुसूची फाराम भर्दा नै उनले ढाँटेको र उनको सांसदका लागि उम्मेदवार बन्न योग्यता नै नपुग्ने भएकाले तत्काल उनको पद खारेज गर्नुपर्ने माग रिटमा गरिएको छ ।