काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि पोखेका छन् । नेताहरूको कार्य विभाजन गर्नको लागि बसेको स्थायी कमिटी बैठकमा खनाल सहभागी भएका थिएनन् ।
गत बुधबार सम्पन्न एकीकृत समाजवादीको स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन टुंग्याएको थियो । जसमा खनाललाई स्कुल विभाग प्रमुखको जिम्मा दिइएको थियो । नेता खनालले भने बैठकका बेला आफू घरमै आराम गरेर बसेको बताए । उनले कार्यविभाजन गर्दा आफूसँग कुनै परामर्श समेत नभएको भन्दै गुनासो समेत गरे। खनालले भने, ‘मसँग कुनै परामर्श भएन । म अहिले रेष्टमा बसेको छु । यो बैठकमा म उपस्थित नि हुन पाइनँ ।’
६ महिनापछि बैठक गर्दा पनि पार्टीले आफ्नो स्वास्थ्य अवस्था राम्रो नभएको बेलामा पारेको भन्दै के के एजेण्डा प्रस्तुत भए ? के–के विषयमा छलफल भयो ? कस्तो छलफल भयो र के निष्कर्ष निकालियो आफूलाई थाहा नभएको उल्लेख गरेका छन् । ‘धेरै कमरेडहरूले देशभरिबाट मलाई सोधिरहनु भएको छ । कतिपय निर्णयहरूका बारेमा चर्को असन्तुष्टि रहेको कुरा पनि केन्द्रीय कमिटीका सदस्यहरूले व्यक्त गरिरहनु भएको छ । यस बीचमा कार्य विभाजन भएछ । त्यस बारेमा पनि धेरै असन्तुष्टि आइरहेको छ’ खनालले भनेका छन् ।
उनले आफूले पार्टीको दशौँ राष्ट्रिय महाअधिवेशन पछि गर्नुपर्ने कामहरूका बारेमा केही प्रस्तावहरू पनि पठाएको बताएका छन् । उनले थपेका छन्, ‘त्यसमध्ये दशौं राष्ट्रिय महाअधिवेशन र हाम्रो कार्य योजना शीर्षकमा पार्टीले तत्काल पहल गरेर गर्नुपर्ने कामहरूको योजना पनि पठाएको थिए । स्थायी कमिटीले के निर्णय ग¥यो मलाई थाहा छैन । पार्टीले महाअधिवेशनबाट क्रान्तिको लक्ष्यका रूपमा समाजवादी कार्यक्रम त्यसलाई प्राप्त गर्ने कार्यदिशा, नीति र सिद्धान्तहरू पास गरेको छ । अब ती कुरालाई व्यवहारमा उतार्ने ठोस कार्ययोजना लिएर पार्टी निर्माण, जनआधार निर्माण र जनसंघर्ष निर्माणको दिशामा सिङ्गो पार्टीलाई हाँक्नुपर्ने आवश्यकता छ ।’
पार्टी केन्द्रीय कमिटीका सदस्यहरूलाई उनीहरूको योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिँदै सिङ्गो पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् । ‘स्थायी कमिटीले गर्नुपर्ने त्यही नै हो । तर के भएको वा गरिएको छ । मैले बुझ्न पाएको छैन । बुझेर मात्र धेरै कुरा भन्न उपयुक्त हुनेछ । कार्य विभाजन हेरे मलाई कयौँ कुरा चित्त बुझेन’ नेता खनालले भनेका छन्, ‘अब अपानी हेर्छु । अनि आफ्नो कुरा भनौला । पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक हुन बाँकी नै छ नि ।’
प्रतिक्रिया