काठमाडौं, ३ पुस । आज डिसेम्बर १८ तारिख अर्थात अन्तर्राष्ट्रिय आप्रवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउने गरिन्छ ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउनु दिवसको मुख्य उदेश्य हो । नेपालमा ‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका साथ सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा तिनका परिवारको सहभागितामा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् ।
सुरक्षित वैदेशिक रोजगारीका लागि सही सूचना र सीप महत्त्वपूर्ण मानिन्छ । नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीले ठूलो योगदान पुर्याउँदै आएको छ । भारतबाहेक विश्वका एक सय ७३ देशमा नेपाली श्रमिक पुगेको तथ्याङक छ ।
श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम रूपमा परिचालन गर्ने सरकारको नीति भए पनि नीतिअनुसार काम हुन नसकेको गुनासो छ ।
आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगारसम्बद्ध कानुनमा परिमार्जन, सीपसहितको रोजगारीको सुनिश्चितता, निःशुल्क अभिमुखीकरण तालिम सञ्चालन गरिने उल्लेख छ ।
श्रम सम्झौता पुनरावलोकनका साथै थप गन्तव्य देशसँग श्रम सम्झौता तथा समझदारी, वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई निःशुल्क बैंक खाता खोल्ने र त्यही खातामार्फत स्वदेशमा विप्रेषण ल्याउन प्रोत्साहन गर्ने, ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयन गरिने नीति छ ।
आर्थिक वर्ष २०८०-८१ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसमेत) लिई ८० हजार एक सय ७२ महिलासहित कुल सात लाख ४१ हजार दुई ९७ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला सुरक्षित एवम् मर्यादित वैदेशिक रोजगारीका लागि चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुहुन्छ ।
दिवसको अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मन्त्रालयका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीलगायतले शुभकामना व्यक्त गर्नुभएको छ ।
गरिबी, युद्ध, आन्तरिक द्वन्द्व तथा असुरक्षा, जलवायु परिवर्तनको असर, काम तथा रोजगारीको खोजी, सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास आप्रवासनका मुख्य आयाम मानिएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओइम) द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, सन् २०२४ अनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको सङ्ख्या १६ दशमलव नौ करोड छ ।
प्रतिक्रिया