काठमाडौं । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याएर वीरगञ्ज पठाइने भएको छ । उनलाई पोखराबाट काठमाडौँ र काठमाडौँबाट बाराको सिमरासम्म जहाजमा यात्रा गराइनेछ । सिमराबाट वीरगञ्ज गाडीमा लैजाने तयारी छ ।
वीरगञ्जको सानो पाइला सहकारी ठगीको अनुसन्धान लागि उनलाई त्यहाँ लैजान लागिएको हो । रविकै व्यावसायिक साझेदार एवं पूर्व डीआईजी छविलाल बन्जाडेलाई हिजै स्थलमार्गबाट वीरगञ्ज लगिसकिएको छ। बन्जाडेसँगै उनका अंगरक्षक रामप्रसाद खनाललाई पनि सोही प्रकरणको अनुसन्धानका लागि वीरगञ्ज लगिएको छ । लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी छ । समय भने निश्चित नभइसकेको प्रहरी स्रोतले बतायो ।
रवि र छवि दुवै सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । जिल्ला प्रहरी कार्यालय पर्साले रवि, छविसहित १४ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ आदेश लिएको थियो । स्रोत भन्छ, ‘जिप्रकाको पछाडितिर अधिकृत आवास जाने बाटोसँगै रहेको महिला सेलको छेउमा महिला हिरासत छ ।
महिला कैदीहरु त्यति नहुने भएकाले यो प्राय खाली नै हुन्छ । यसमै रंगरोगन र सरसफाइ गरेर उहाँहरुलाई राख्न लागिएको हो ।’ जिल्ला प्रहरी कार्यालयमा महिला र पुरुष थुनुवा राख्ने एक–एक वटा हिरासत छन् । त्यहाँ उडुसको ‘महामारी’ नै छ । ‘भीआइपी थुनुवा’ हरु ल्याइने भएपछि उडुस मार्ने दबाइ हालिएको प्रहरीले स्रोतले जानकारी दिएको छ ।


प्रतिक्रिया