काठमाडौँ । आज स्वर सम्राट् नारायण गोपालको स्मरण गरिँदै छ । उनको ३४औँ स्मृति दिवसका अवसरमा नारायण गोपाल संगीत कोषले नारायण गोपाल सम्मान र संगीत पुरस्कार वितरण गर्ने भएको छ ।
नेपाल कला संस्कृति विकास केन्द्रले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा कलाकारहरूले नारायण गोपालका गीतहरू गाउने भएका छन् । स्मृति दिवस पारेर नारायण गोपाल संगीत कोषद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ यो वर्ष पनि विभिन्न संगीतकर्मीहरूलाई प्रदान गरिँदै छ ।
कोषले विज्ञप्ति जारी गर्दै गीतकार शिवशंकर थापा, संगीतकार बुलु मुकारुङ तथा गायक कुमार बस्नेतलाई जनही नगद ५१ हजार रुपैयाँसहित ताम्र पत्र र दोसल्लाले सम्मान गरिने जनाएको छ । विसं १९९६ असोज १८ गते काठमाडौँको किलागलमा जन्मिएका नारायण गोपालको निधन २०४७ मंसिर १९ गते भएको थियो । २०१७ सालमा रेडियो नेपालबाट माणिक रत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा उत्तीर्ण गरेका स्वर सम्राट् नारायण गोपालले दर्जनौँ कालजयी गीत गाएका छन् ।


प्रतिक्रिया