काठमाडौं। सहकारी ठगी मुद्दामा बयानका निम्ति पोखराबाट ल्याइएको पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको बयान आज पनि सकिएन ।
काठमाडौं महानगरपालिका १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा आरोपित लामिछानेलाई बिहीबार बयानका निम्ति पोखराबाट काठमाडौं ल्याइएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई काठमाडौं पठाएको थिए ।
भद्रकालीस्थित काठमाडौं प्रहरीको हिरासतमा राखिएका उनलाई शुक्रबार बिहानैदेखि जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीमा बयानका निम्ति पठाइएको थियो । त्यही बिहानबाट बयान शुरू भयो । आज दोस्रो दिनको बयान चलिरहेको छ, तर सकिने सम्भावना छैन ।
‘आज नसकिने नै भयो, भोलिचाहिँ छिट्टै सिध्याएर पठाउँछौं’, काठमाडौं सरकारी वकिल कार्यालय प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठले भने । सोध्नुपर्ने विषय धेरै हुँदा उनको बयान आज पनि नसकिएको श्रेष्ठले बताए । स्वर्णलक्ष्मी सहकारी पीडितद्वारा दिइएको जाहेरीमा उल्लेखित आरोप र अनुसन्धानबाट खुल्न आएका तथ्यमाथि आधारित भएर उनको बयान लिइँदैछ ।
भोलि बयान सकिए भोलि नै उनलाई पोखरा पठाइने काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।
उता, चितवन भरतपुरमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयानका लागि पूर्वडीआईजी छविलाल जोशीलाई चितवन लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय कस्कीको हिरासतमा रहेका जोशीलाई र आइतबार बिहान बयानका लागि चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिए । उनका अनुसार पूर्वडीआईजी जोशीका साथै रामबहादुर ढकाललाई चितवन ल्याइएको छ ।


प्रतिक्रिया