काठमाडौं । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान जारी छ । हेटौँडा उपमहानगरपालिका–१२ मा वडाध्यक्ष पदका लागि मतदान जारी छ । मतदाता उत्साहका साथ भोट खसाल्न उक्त उपमहानगरपालिका–१२ स्थित प्रतिभा आधारभूत विद्यालय र विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा लामबद्ध भएका छन् । सो वडामा आठ हजार ५३ मतदाता रहेका वाग्मती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
गत निर्वाचनमा वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान मकवानपुर जिल्ला समन्वय समितिको प्रमुख भएपछि उक्त पद रिक्त भएको हो । सो वडाको वडाध्यक्षका लागि विभिन्न दलका नौ जना तथा तीन जना स्वतन्त्र गरी १२ जना चुनावी मैदानमा छन् । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. १ र ४ मा वडाध्यक्ष पदका लागि पाँच मतदान केन्द्रमा मतदान जारी छ ।
दुवै वडाबाट निर्वाचित वडाअध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो । वडा नं.१ मा एक स्वतन्त्रसहित आठजना तथा वडा नं। ४ मा पनि एक महिलासहित ८ जना उमेदवार छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार डाक्नेश्वरी नगरपालिका–१ मा दुई हजार ६३५ र वडा–४ मा एक हजार २८१ मतदाता छन् । धनुषाधाम नगरपालिका १ मा पनि मतदान भइरहेको छ । दैलेखको महावु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख र हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान जारी छ ।
दैलेखको दुल्लु नगरपालिका–१३, कालिकोटको तिलागुफा–४, जाजरकोटको कुशे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ र रुकुमपश्चिमको सानोभेरी नगरपालिका–५ मा वडाअध्यक्ष पदको मतदान भइरहेको छ। उपनिर्वाचनमा ४४ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यस्तै हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदका लागि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
सर्केगाडका देवल प्रावि, सरस्वती मावि, लालीगुँरास मावि, देवकोटा मावि, हिमज्योति मावि, भवानी मावी, धुमचुली मावि कल्लास, स्वयम्भू मावि, ईश्वर मावि, कोट मावि, अंशुवर्मा मावि र नीलकण्ठ सामुदायिक प्राविमा मतदान केन्द्रमा भोट हाल्न मतदाता लामबद्ध भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा सरकारले आज एक दिन सार्वजनिक बिदा समेत दिएको छ ।



0
0
0
0
0
0


प्रतिक्रिया