मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हनी ट्र्याप : घाउ ड्रेसिङ् गर्न भन्दै कोठामा बोलाइयो, बलात्कारमा फसाइदिने भन्दै १८ लाखको बार्गेनिङ

हनी ट्र्याप : घाउ ड्रेसिङ् गर्न भन्दै कोठामा बोलाइयो, बलात्कारमा फसाइदिने भन्दै १८ लाखको बार्गेनिङ

न्यूजस्टोरी

फार्मेसी सञ्चालकलाई घाउ ड्रेसिङ् गर्ने बहानामा आफ्नो कोठामा बोलाएर हनी ट्र्यापमा संलग्न रहेको अभियोगमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको माई नगरपालिका–१ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँ ठिमी बस्ने २५ वर्षीया समृद्धी मगर, काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई हाल काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने ३० वर्षीय दीपेन्द्र दर्जी र काभ्रेको भुम्लु गाउँपालिका–४ कोशीपारी घर भई हाल हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ नयाँ ठिमी बस्ने २६ वर्षीय वर्षा दर्जी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘आपराधिक लाभ लिने उद्देश्यले योजना बनाइ मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई निज वर्षा दर्जीले घाउ ड्रेसिङको लागि अनलाइनबाट सम्पर्क गरी आफू एक्लै भएको अवस्थामा कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरजस्ती करणी मुद्दामा फसाइ दिन्छु भनी डर त्रास देखाई १८ लाख रुपैयाँबाट बार्गेनिङ गर्दै आठ लाख रुपैयाँ दिए कुरा मिल्छ भनी रकम असुली गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो ।’

दर्जीले सामाजिक सञ्जाल मेसेन्जरबाट खुट्टामा घाउ भई ड्रेसिङ्का लागि आइदिनु पर्‍यो भनी पीडित व्यक्तिलाई म्यासेज गरेको र दर्जीको कोठामा पीडित व्यक्ति जाँदा निजको खुट्टामा कुनै पनि किसिमको घाउ चोट नरहेको तथा निज दर्जीले आफ्नो ढोकाको चुकुल लगाइ पीडितलाई कोठामा राखेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यसै गरी पीडितले ढोकाको चुकुल खोली बाहिर निस्किँदै गर्दा समृद्धि मगर भन्ने अर्को एक महिला आई पीडितसँग कुरा गर्नु छ भनी कोठाभित्र लगी जबरजस्ती करणी मुद्दामा फसाइ दिऊँ वा सहमतिमा आउनु हुन्छ भन्दै धम्की दिएको प्रहरीको भनाइ छ ।

१८ लाखदेखि रकमको माग गरी आठ लाख रुपैयाँ दिने सर्तमा कुरा मिलाइ भक्तपुरको मध्यपुर ठिमी–३ कौशलटारमा रहेको वेभ सेकुवामा यही मङ्सिर ११ गते बिहान २५ हजार नगदसहित दीपेन्द्र दर्जी र समृद्धि मगरले लिएको र समृद्धिले दिएको सिद्धार्थ बैंकको क्युआर खातामा २५ हजार थप जम्मा गरेको तथा सोही स्थानमा ७५ हजार रुपैयाँको चेक लिएको तथा एक जना व्यक्ति हाल फरार रहेको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले बताए ।

पक्राउ परेकाहरूको साथबाट एनआइसी एसिया बैंकको वर्षाको नाममा काटी दिएको ७५ हजारको चेक एक थान, नगद २० हजार पाँच सय रुपैयाँ, विभिन्न कम्पनीका मोबाइल चार थान बरामद गरिएको तथा दीपेन्द्र दर्जी ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मा विसं २०७१ मा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट पक्राउ परी सजाय भुक्तान गरेको व्यक्ति रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।