काठमाडौँ । भैंसेपाटी प्रहरी प्रभागकी इन्स्पेक्टर बिनुकमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा चलाउन सिआइबीले सिफारिस गरेको छ। प्रहरीकै मिलेमतोमा व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाउने भन्दै पैसा असुलिएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरमा बुझाएको हो ।
फरार रहेकी इन्स्पेक्टर बिनुकमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा चलाउन सीआइबीले प्रतिवेदन मंगलबार सरकारी वकिल कार्यालयमा बुझाएको हो । पक्राउ परेका चार र दुई फरारको घटनामा संलग्नता देखिएको भन्दै उनीहरूमाथि संगठित अपराध र आपराधिक लाभ मुद्दा चल्न लागेको हो ।
प्रहरीले सो घटनामा संलग्न इटहरीका ताज इस्लाम, सुष्मा विक र भीमादेवी थापा तथा प्रहरी प्रभाग भैंसेपाटीका सहायक हवल्दार महेन्द्र हमाललाई पक्राउ गरेको छ । इन्स्पेक्टर शाहीसहित इटहरीका दर्शन पोखरेललाई फरार प्रतिवादी बनाउन प्रहरीले सिफारिस गरेको छ। गिरोहसँग शंकास्पद सम्बन्ध देखिएका एसपी कमल थापाको बयान लिए पनि प्रमाण नपुगेको भन्दै उनीविरुद्ध भने मुद्दा नचलाउन सिआइबीको सिफारिस छ । गत ७ असोजमा प्रहरी प्रभाग भैंसेपाटीमा इटहरीका एक व्यवसायीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको थियो । इटहरीकै सुष्मा विकसँग ती व्यापारी केही महिनाअघि इलाम घुम्न गएका थिए । तिनै युवतीलाई कुटपिटको उजुरी हाल्न लगाई बलात्कार मुद्दा चलाउने भन्दै प्रहरी कार्यालयमै बार्गेनिङ भएको थियो ।


प्रतिक्रिया