मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेलाई जहाज फेरेर भैरहवाबाट पोखरा लगियो

रवि लामिछानेलाई जहाज फेरेर भैरहवाबाट पोखरा लगियो

न्यूजस्टोरी

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीको भैरहवाबाट कास्कीको पोखरा लगिएको छ । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानमा रहेका सभापति लामिछानेलाई आज (शुक्रबार) भैरहवाबाट पोखरा लगिएको हो ।

बयानका लागि गत मंगलबार कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका सभापति लामिछानेको बयान हिजो साँझ ढिला गरी सकिएको थियो । लामिछानेलाई आज बिहानै ७ बजेर ४५ मिनेटको बुद्ध एयरको विमानबाट कास्की लगिने तयारी भए पनि एयरपोर्ट नखुलेका कारण यति एअरलाइन्सको विमानबाट साढे १ बजे पोखरा पठाइएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

विमानस्थल खुल्ने बित्तिकै लामिछानेलाई पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले जानकारी दिए । सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसँग तीन दिनमा साढे २३ घण्टा लगाएर बयान लिइएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।

गत मंगलबार मध्यान्न कास्कीबाट जहाजबाट भैरहवा ल्याइएका लामिछानेसँग मंगलबार, बुधबार र बिहीबार गरी साढे २३ घण्टाको बयानमा ७४ वटा सवालको जवाफ लिइएको न्यायधिवक्ता पौडेलले उल्लेख गरे । बयान लिने क्रममा जिल्ला न्यायाधिवक्ता पौडेलसहित प्रहरी प्रमुखको उपस्थिति रहेको थियो । लामिछानेसँग बिहिबार बिहान साढे १० देखि राति ८ बजेसम्म बयान लिइएको थियो । लामिछानेलाई राति ८ः २५ बजे सरकारी वकिल कार्यालयबाट बाहिर निकालिएको थियो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगि रकम अपचलन गरेको अभियोगमा रुपन्देहीमा बयान लिइएको हो । ईलाका प्रहरी कार्यालय बुटवलले सहकारी ठगीमा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई प्रतिवादी बनाएर मुद्दा चलाएपछि अदालतको आदेश अनुसार पक्राउ पूर्जी समेत जारी भएको थियो ।

बयानका क्रममा लामिछानेले आफू सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको सदस्य नै नभएको भन्दै बचत अपचलनमा संलग्न रहेको इन्कार गरेको अनुसन्धानमा संलग्न अधिकारीले जनाएका छन् । ईलाका प्रहरी कार्यालय बुटवलमार्फत् अभियोजन गरिएको मुद्दा सरकारी वकिल कार्यालयले बयान पश्चात अदालतमा पेस गर्नेछ ।

सुप्रिमबाट लामिछानेले २ करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबीन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये सुप्रिमको करिब एक अर्ब ऋण प्रवाहमध्ये जीबी राई जोडिएका संस्था, कम्पनी र व्यक्तिको मात्रै ७० प्रतिशत बढी अर्थात् ७० करोड रकम नै हिनामिना भएको संसदीय प्रतिवेदनमा उल्लेख छ।