काठमाडौँ । विराटनगरमा पक्राउ परेका कोशीका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पक्राउ परेका एमाले प्रदेश सांसद अधिकारीलाई अनुसन्धानका लागि मंगलबारसम्म हिरासतमा राख्न अदालतबाट अनुमति दिएको बताए । आरोपित अधिकारीलाई आइतबार मोरङबाट पक्राउ गरी जहाजमार्फत काठमाडौं ल्याइएपछि अदालत उपस्थित गराइएको थियो ।
एसपी अधिकारीका अनुसार यसअघि पक्राउ परेका यही कसूरका अरु ६ जनालाई हिरासतमा राख्ने अवधिसम्म सांसद अधिकारीलाई म्याद मिलान गरिएको हो ।
नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी आइतबारमात्रै पक्राउ गरिएको हो ।


प्रतिक्रिया