मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शनिबार १७१ यात्रु ल्याएको कुवेतको जजिरा एयरवेजले १६८ जना लिएर उड्यो

शनिबार १७१ यात्रु ल्याएको कुवेतको जजिरा एयरवेजले १६८ जना लिएर उड्यो

न्यूजस्टोरी

भैरहवा । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले पनि उडानको सुरुवात गरेको छ । विमानस्थल सञ्चालनपछि पहिलो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको रुपमा व्यवसायिक उडान थालेर प्राविधिक कारण देखाउँदै उडान स्थागित गरेको जजिराले शनिवारदेखि पुनः कुवेत–भैरहवा सिधा उडान सुरु गरेको छ ।

शनिवार बिहान ७:४० बजे एक सय ७१ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको जजिराले १ सय ६८ यात्रु लिएर कुवेत प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए । विमानस्थलमा अवतरण भएको जजिराको पानीको फोहोराले स्वागत गरिएको थियो ।

भैरहवा विमानस्थलबाट यसअघि थाइल्याण्डको वायुसेवा कम्पनी थाइ एयर एशियाले नियमित उडान सुरु गरिसकेको छ भने शनिवार एकै दिन जजिरासहित नेपाल एयरलाइन्स र फ्लाई दुबाईले उडानको सुरुवात गर्ने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

शनिवार रातिदेखि नेपाल एयरलाइन्सले काठमाडौं–भैरहवा–दुबई–काठमडौं सातामा चार दिन आइतबार, सोमबार, बुधवार र शुक्रवार उडान गर्ने तालिका रहेको सूचना अधिकारी राउतले बताए । त्यस्तै संयुक्त अरब इमिरेट्स (युएई) फ्लाई दुबईले शनिवार मध्यान्हदेखि साताको सातै दिन दुबई–भैरहवा–काठमाडौं–दुबई एक उडान गर्ने उनले जनाए ।

विमानस्थल संचालनमा आएको दुई वर्षपछि विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्ससहित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले उडान भर्न थालेपछि निजी क्षेत्र हौसिएको छ ।

भैरहवा विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडानले यस क्षेत्र पर्यटन क्षेत्रमा फड्को मार्ने विश्वास लिइएको भैरहवाका पर्यटन व्यवसायी अमितकुमार गुप्ताले बताए ।

‘विमानस्थल निर्माणमा अर्बौं लगानी भइसकेको छ र त्यही हेरेर यस क्षेत्रको पर्यटन क्षेत्रमा पनि व्यवसायीहरूले उस्तै लगानी गरेका छन् । तर, अहिलेसम्म प्रतिफल पाउन सकेका छैनन्’, उनले भने, ‘विमानस्थललाई हेरेर भएको यस क्षेत्रमा अर्बौ लगानी र धरासय भएको पर्यटन क्षेत्र उकास्नका लागि सरकारले यी चारबाहेक अन्य वायुसेवा कम्पनीहरूलाई पनि भैरहवा विमानस्थलमा ल्याउनुपर्छ ।’