मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाण्डौमा वायु प्रदूषण बढ्दै, तिहारमा पटका पड्काउनु मुख्य कारण

काठमाण्डौमा वायु प्रदूषण बढ्दै, तिहारमा पटका पड्काउनु मुख्य कारण

न्यूजस्टोरी

काठमाडौं, १७ कार्तिक । काठमाण्डौका वायु प्रदूषण बढेको छ । मुख्य कारण तिहारका बेला पड्काउने पटका रहेको विज्ञले बताएका छन् । पटका मात्रै नभएर अन्य कारणले पनि अबका दिनमा प्रदूषण थप बढ्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

‘एयर क्वालिटी इन्डेक्स’ ले हिजो बेलुका काठमाण्डौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० देखाएको थियो । आज बिहान काठमाण्डौको एक्यूआई एक सय ५६ रहेको छ । अस्ति बिहीवार दिउँसोसम्म काठमाण्डौको एक्यूआई एक सयभन्दा कम थियो ।

एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन मानिन्छ । ५१ देखि एक सयसम्मको एक्युआईलाई पहेँलो अनि एक सय एकदेखि एक सय ५० सम्मलाई अस्वस्थकर मानिन्छ । यसले मुख्यगरी श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ । एक सय ५१ देखि दुई सयसम्मको एक्युआईलाई पनि अस्वस्थ तर सबैलाई असर पार्ने हुन्छ । दुई सय एकदेखि तीन सयलाई धेरै अस्वस्थकर मानिन्छ ।

काठमाण्डौ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले एक्युआईको मान तीन सयभन्दा धेरै भएको अवस्थालाई विपद्को रूपमा लिने उल्लेख छ । पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरु जस्तै सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कणहरु वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्ले आग्रह गरेका छन् ।

वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउनमा रोक लगाउनुपर्नेमा जोड दिनुभएको छ । यस्तै, जलवायुका विज्ञ डा। धर्मराज उप्रेतीले पनि तिहारमा पट्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनी प्रदूषण गराउने भन्दै पटका पट्काउन कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ ।