मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं उपत्यकासहित देशका मुख्य शहर बजार झिलिमिली

काठमाडौं उपत्यकासहित देशका मुख्य शहर बजार झिलिमिली

न्यूजस्टोरी

काठमाडौं, १६ कार्तिक । काठमाण्डौ उपत्यकासहित देशका मुख्य शहर बजार झिलिमिली भएका छन् । हिजो बेलुका ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिएको हो । लक्ष्मी पुजासँगै काठमाण्डौ उपत्यकासहित देशका मुख्य शहरबजार झिलिमिली भएका हुन् । उज्यालोको पर्वसमेत मानिने तिहारमा घर तथा कार्यालय सरसफाइ गरी झिलिमिली बत्तीले सजिएका छन् ।

काठमाण्डौमा विगत दिनमाभन्दा हिजो बेलुका लक्ष्मी पुजासँगै धेरै चहलपहल देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । लक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिने भएकाले रातभर जाग्राम बसेर लक्ष्मीको आराधना गरिन्छ । रातभर जाग्राम बसेर लक्ष्मीपूजा पर्व मनाइने भएकाले पनि काठमाण्डौ उपत्यकामा चहलपहल बढेको हो ।

राति नौ बजेपछि सुनसानप्रायः हुने काठमाण्डौका सडकमा गएराति अबेरसम्म बाक्लै चहलपहल देखियो । भैलो खेल्नेको चलहपहल पनि उत्तिकै थियो । यमपञ्चक अर्थात् तिहारअन्तर्गत औँसीको दिन आज कुनै पर्व नरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राध्यापक डा। रामचन्द्र गौतमले जानकारी दिनुभयो ।