मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहकारी प्रकरण: रुपन्देही अदालतबाट रवि र छविसहित १२ जनालाई पक्राउ पुर्जी जारी

सहकारी प्रकरण: रुपन्देही अदालतबाट रवि र छविसहित १२ जनालाई पक्राउ पुर्जी जारी

न्यूजस्टोरी

काठमाडौँ । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन्।

हिरासतमा रहेका रविमाथि सहकारीकै अर्को मुद्दा पनि थपिएको छ। रूपन्देही जिल्ला अदालतबाट पूर्वउपप्रधान एवम् गृहमन्त्री रहेका रविसहित १२ जनालाई पक्राउ पुर्जी जारी भएको छ। जसमा पूर्वडीआईजी छविलाल जोशी र रास्वपाका सहमहामन्त्री विपिन आचार्यकी पत्नी सुरक्षा अधिकारीको पनि नाम छ।

रूपन्देही अदालतले टवलस्थित सुप्रिम सहकारीको बचत अपचलनसम्बन्धी उजुरीका आधारमा उनीहरूमाथि अनुसन्धान गर्न अदालतले बिहीबार अनुमति उनीहरूमाथि संगठित रूपमा सहकारी ठगी गरेको कसुरमा अनुसन्धान गर्न भनी बिहीबार पक्राउको अनुमति दिएको हो।

सहकारीबाट नोबडी प्रोडक्सन कम्पनीलगायत व्यक्तिका नाममा २ करोड ३१ लाख १५ हजार रुपैयाँ रकम गएको देखिएको छ।

सुप्रिम सहकारीका बचतकर्ता नारायणबहादुर पहराईले इलाका प्रहरी कार्यालय बुटवलमा गत असोज ५ मा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले जिल्ला अदालतमा पक्राउ अनुमति माग गरेको थियो। प्रहरीको त्यही मागका आधारमा न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले संगठित रूपमा सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि १२ जनालाई पक्राउ गर्न अनुमति दिएको हो।

यता, कास्की जिल्ला अदालतले रास्वपा सभापति रविलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको हो। प्रहरीले उनलाई हिरासतमा राखी अनुसन्धान गर्न २५ दिनको अनुमति माग गरे पनि अदालतले सात दिनको मात्र म्याद दिएको हो।