पोखरा । सहकारीको रकम ठगीको आरोपमा पक्राउ परेको छविलाल जोशीलाई आज पोखरा ल्याइँदैछ ।
कास्की प्रहरीको हिरासतमा रहेका उनलाई सोमबार रुपन्देही लगिएको थियो । बुटवस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकमसमेत पूर्वडिआइजी जोशी सञ्चालक रहेको गोरखा मिडिया नेटवर्कमा अनाधिकृत रुपमा लगानी गरेपछि वयानको लागि रुपन्देही पुर्याइएको हो ।
मंगलबार उनीसँग झण्डै सात घण्टा सरकारी वकिलको कार्यालयमा वयान लिइएको थियो । वयान सकेपछि पुन कास्की पठाउन लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी लक्ष्मी खनालले बताइन् ।उनका अनुसार हवाइमार्ग हुँदै उनलाई पोखरा पठाइनेछ । दिउँसो १२ बजे बुद्ध एयरको उडानमार्फत पोखरा पठाउने उनले जानकारी दिइन् ।
जोशीलाई असोज ६ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो । गोरखा मिडिया नेटवर्कमा जोशीका व्यवसायीक साझेदार पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पक्राउ परेका छन् ।शुक्रबार काठमाडौंबाट पक्राउ गरेर शनिबार विहान कास्की ल्याइपुर्याइएका रवि पनि कास्की प्रहरीको हिरासतमा छन् । रवि र छवि दुवैलाई म्याद थपका लागि बिहीबार अदालत उपस्थित गराउने प्रहरी स्रोतले जानकारी दिएको छ ।
आइतबार जिल्ला अदालत कास्कीले हिरासतमा राख्न ६ दिनको अनुमति दिएको थियो । सोमबार रविसँग सामान्य सोधपुछ र कागजात प्रमाणितको काम गरिएको थियो। मंगलबार सरकारी वकिलको कार्यालयमा प्रहरीले रविसँग वयान लिएको छ ।


प्रतिक्रिया