मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बीपी राजमार्ग भोलिदेखि खुल्ने, पूर्वी नेपालबाट काठमाण्डौ आउजाउ गर्न सहज

बीपी राजमार्ग भोलिदेखि खुल्ने, पूर्वी नेपालबाट काठमाण्डौ आउजाउ गर्न सहज

न्यूजस्टोरी

काठमाण्डौ । काठमाण्डौलाई पूर्वी नेपालसँग जोड्ने छोटो राजमार्गका रुपमा रहेको बीपी राजमार्ग भोलिदेखि खुल्ने भएको छ । यही असोजको १०, ११ र १२ गतेको बाढीपहिरोले वीपी राजमार्गको १२ किलोमिटर भन्दा धेरै भाग बगाएको थियो । तर रातदिन र चाडपर्व नभनी काम भइरहेकाले भोलिदेखि कतै एकतर्फी र कतै दुईतर्फी नै राजमार्ग खुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले उज्यालोलाई जानकारी दिनुभएको छ ।

आज फूलपातीको दिन पनि बिहानैदेखि जनशक्ति र मेसिनहरु सडक बनाउन खटिएका छन् । आज रातभरी र भोलि बिहान केहीबेर काम गरेर सडक खुलाउने उहाँको भनाइ छ । देशका अरु ठाउँमा सडक खुलाएपछि सबैजसो मेसिन र जनशक्ति बीपी राजमार्ग खुलाउन परिचालन गरिएको सचिव शर्माले बताउनुभयो ।

केही मेसिन भाडामा पनि लिइएको उहाँको भनाइ छ । धेरैजसो ठाउँमा खोला फर्काएर र बगरमा सडक बनाइएको छ । पूर्वी नेपालसँग जोड्न बीपी राजमार्ग निकै महत्त्वपूर्ण भएकाले यो सडक खुलाउन डेडिकेटेड टिम नै खटाइएको सचिव शर्माले जानकारी दिनुभयो । आफू पनि आजसम्म तीन पटक यो सडकको अनुगमनमा गएको शर्माले बताउनुभयो ।

काठमाण्डौ र पूर्वी नेपाल जोड्ने बीपी राजमार्गबाट दैनिक १० हजार वटा गाडी आउजाउ गर्थे । यो सडक पहिरोले अवरुद्ध भएपछि दशैँमा आउजाउ गर्ने यात्रुले धेरै दुख पाएका छन् ।

अब भोलिदेखि नै सडक खुल्ने भएकाले टीका लगाउन जान सजिलो हुने र टीकापछि पूर्वी नेपालबाट साना गाडी बीपी राजमार्ग हुँदै काठमाण्डौ आउजाउ गर्न सक्ने सचिव शर्माले उज्यालोलाई जानकारी दिनुभएको छ ।