मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँघर फर्कनेलाई सडकको चिन्ता, केही सडक खण्ड अझै खुल्न बाँकी

गाउँघर फर्कनेलाई सडकको चिन्ता, केही सडक खण्ड अझै खुल्न बाँकी

न्यूजस्टोरी

काठमाडौं, २२ असोज । दशैँ मनाउन घर फर्कनेहरुको चहलपहल बढ्न थालेको छ । तर विभिन्न ठाउँमा सडक अवरुद्ध र जीर्ण भएकाले यात्रा कष्टकर बनेको यात्रुको गुनासो छ । खुलेका सडकमा पनि पहिरोको जोखिम भएकाले यात्रुले ढुक्कसँग यात्रा गर्न पाएका छैनन् ।

बाढीपहिरोका कारण अवरुद्ध भएका धेरै राजमार्ग सञ्चालनमा आए पनि बीपी राजमार्ग, कान्ति लोकपथ अझै खुलेको छैन । बझाङको जयपृथ्वी राजमार्ग पनि अस्ति आइतवारदेखि बन्द छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडक र रामेछापको मन्थली–खुर्कोट सडक पनि खुलेको छैन । प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

हेटौँडा–काठमाण्डौ जोड्ने छोटो दुरीका हेटौँडा–फाखेल–काठमाण्डौ, हेटौँडा–कुलेखानी–चखेल–मातातीर्थ, हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ सडक सञ्चालनमा आए पनि कान्ति राजपथ भने खुलाउन भने अझै केही दिन लाग्ने भएको छ ।

काठमाण्डौको जीवन रेखा अर्थात लाइफ लाइनका रूपमा रहेको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ भने यसअघि नै सञ्चालनमा आइसकेका छन् । पूर्वी नेपाललाई काठमाण्डौसँग जोड्ने सबैभन्दा व्यस्तमध्येको बीपी राजमार्ग खुलाउन भने अझै समस्या भएको छ ।

बीपी राजमार्गको रोशी खोलादेखि पूर्व–दक्षिण १२ किलोमिटरसम्म बाटो बगाएको छ । बीपी राजमार्गको सबभन्दा ठूलो विकल्पको रुपमा काठमाण्डौ–हेटौँडा जोड्ने सडक बनेका छन् ।

खुलेका सडकमा पनि जोखिम रहेको प्रहरीले जनाएको छ । पानी परेर भिजेका ठाउँमा फेरि पहिरो खस्ने जोखिम रहेकाले गाडीमा यात्रा गर्दा चालक, यात्रु र व्यवसायीलाई विशेष ध्यान दिन प्रहरीले आग्रह गरेको छ ।