मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु, विराटनगर भन्सार परिसर तनावग्रस्त

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु, विराटनगर भन्सार परिसर तनावग्रस्त

न्यूजस्टोरी

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ स्थित विराटनगर भन्सार कार्यालय (आईसीपी) परिसर तनावग्रस्त बनेको छ । भन्सार कार्यालय जाने सडकमा दुर्घटना भएर साइकल यात्रीको मृत्यु भएको विषयलाई लिएर स्थानीय ढुङ्गामुढामा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको हो ।

आक्रोशित भिडले भन्सार कार्यालयलाई लक्षित गरेर  ढुंगामुढा गरेको छ । भन्सार कार्यालय तोडफोडको प्रयासपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले १० शेल अश्रुग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । 

उनका अनुसार विराटनगर–१८ स्थित आईसीपी रोडमा ट्रकको ठक्करबाट बिहीबार साँझ १ जना साइकलयात्रीको मृत्यु भएको थियो । ट्रकको ठक्करबाट विराटनगर–१८ लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएको हो । विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई साँझ पौने ७ बजेतिर ठक्कर दिएको थियो ।

गम्भीर घाइते उनलाई इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले उपचारका लागि विराट नर्सिङ होम पठायो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिए । ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्रक र चालक सुनसरीको बर्जु गाउँपालिका–५ का ३० दीपक यादवलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । ट्रक चालकको लापरवाहीले दुर्घटना भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।  दुर्घटनापछि बिहीबार साँझ विराट नर्सिङ होसमा समेत तनाव भएको थियो । आक्रोशित भिडले अस्पतालमा तोडफोडको प्रयास गर्दै सुरक्षा गार्ड र कर्मचारीमाथि दुव्र्यवहार समेत गरेको प्रहरीले जनाएको छ । 

स्थानीयले भने सुरुमा अस्पतालका सुरक्षा गार्डले कुटपिट गरेको बताएका छन् । अहिले पनि मृतकको शव अस्पतालमै छ । परिवारका सदस्य र आफन्तले बुझ्न अस्वीकार गरेका छन् । आईसीपी रोडमा सवारी दुर्घटना धेरै भइरहेको भन्दै विरोधमा स्थानीय आन्दोलित बनेका छन् । 

त्यस क्रममा आक्रोशित भीडले भन्सार कार्यालयलाई लक्षित गरेर ढुंगामुढा गरेको डीएसपी जोशीले बताए । उनका अनुसार ढुंगामुढाबाट भन्सारको गेट र भवनमा क्षति पुगेको छ । कार्यालय भवनको शिशाहरु फुटेका छन् ।  भीड रोक्ने क्रममा ढुंगामुढा हुँदा असइ (प्रहरी सहायक निरीक्षक) सहित ४ जना प्रहरीले सामान्य घाइते भएको जानकारी जोशीले दिए । भीड थप आक्रोशित बनेर अनियन्त्रित हुँदै गएपछि नियन्त्रणमा लिन अश्रुग्यास र लाट्ठी प्रहार समेत गर्नु परेको उनको भनाइ छ ।