मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी पहिरो प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

बाढी पहिरो प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

न्यूजस्टोरी

काठमाडौं । गृह मन्त्रालयले गठन गरेको कार्यदलका संयोजकहरू फिल्डमा खटिएका छन् ।

बाढी पहिरो प्रभावित ८ जिल्लामा खोज तथा उद्धार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरिएको कार्यदलका संयोजकहरू बुधबार बिहानदेखि फिल्डमा खटिएका हुन् ।

आवश्यक कार्यादेशसहित प्रभावित जिल्लामा सह-सचिव खटाइएको गृहसचिव गोकर्णमणि दुवाडीले जानकारी दिए 

बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो ।

गृह मन्त्रालयका अनुसार काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेपलाञ्चोकमा वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ ।

कार्यदललाई अतिभारी वर्षका कारण उत्पन्न बाढी–पहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्नेछ ।

यस्तै, अतिभारी वर्षका कारण आएको बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकहरूको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सडक निर्माण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने र विपद् पीडित नागरिकहरूको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यादेश दिइएको छ ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन् । कार्यदललाई यही असोज २१ गतेसम्म गृहमन्त्रालयमा प्रतिवेदन पेश गर्न समयावधि दिइएको छ ।साथै कार्यदलले दैनिक रूपमा पनि प्रभावित ठाउँबाट जिल्लाको विपद्को वस्तुस्थितिका बारेमा केन्द्रमा जानकारी समेत गराउने छ ।

त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि दश जना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ ।

प्राधिकरणका सहसचिव वसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी बुधबार नै प्रभावित पालिकाहरूमा खटाइएको जानकारी दिए ।

‘हामीले दश जना अधिकृतलाई बाढी/पहिरो र डुबान प्रभावित जिल्लामा खटाएका छौं,’ अधिकारीले भने, ‘उहाँहरूले प्रभावित पालिकासँग समन्वय र समर्पक गरेर नगद र वस्तु राहत वितरणमा सहजीकरण र फिल्डको अवस्थाका बारेमा केन्द्रमा जानकारी गराउने लगायतका काम गर्नेछ ।’