पोखरा । जिल्ला अदालत बागलुङले सहकारी ठगी प्रकरणमा पक्राउ परेका देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । सोमबार बयान सकिएपछि मंगलबार अदालतमा थुनछेक बहस चलेको थियो ।
बहस सकिएपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले थुनामा राख्न आदेश दिएको हो ।
नेपाली बागलुङ र पोखरामा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष थिए । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत रहेका नेपालीको राहदानी रद्द, इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएता पनि उनी डेढ वर्षसम्म फरार रहे । शुक्रबार भारतको नयाँदिल्लीबाट पक्राउ परेका उनलाई आइतबार बागलुङ लगिएको थियो ।
सहकारी संस्थाका एक हजार ५४३ जना बचतकर्ताको जाहेरीमा जिल्ला अदालत बागलुङमा २०८० असार २५ गते उनीविरुद्ध ठगी मुद्दा दर्ता भएको थियो ।सरकारी वकिलको कार्यालयले संस्थाका अध्यक्ष देवकुमार नेपालीसहित ११ जनाविरुद्ध एक अर्ब ५४ करोड रुपैयाँ र आठदेखि १० वर्ष कैद सजाय माग गर्दै ठगी मुद्दा दायर गरेको हो ।
सहकारीको वित्तीय अवस्था समेतलाई मध्यनजर गरी नेपालीलाई थुनामा राख्न आदेश दिइएको हो । सोमबारको बयानमा उनले आफ्नो चलअचल सम्पत्ति लिलाम गरेर भएता पनि ऋण तिर्ने बताएका थिए ।उनीसँगै पक्राउ परेका ओमप्रसाद दर्जीलाई भने एक लाख ५० हजार धरौतीमा छोड्न आदेश दिएको छ । सहकारीपीडितहरूको निवेदनका आधारमा सरकारी वकिलको कार्यालयले नेपालीलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दर्ता गरेको छ । उनीविरुद्ध जिल्ला अदालत कास्कीमा समेत मुद्दा रहेकाले थुनछेक बहसका लागि पोखरा ल्याइने भएको छ ।
यस मुद्दामा सहकारीका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउन ५ गते नै थुनामा गएका थिए । सोही आदेशकै आधारमा परियार र बुढामगर २०८१ पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमा छन् ।


प्रतिक्रिया