काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले प्रतिनिधिसभामा बोल्ने क्रममा व्यक्त गरेको ‘माओवादी हिंसा’ शब्द असंसदीय नभएकाले संसदको रेकर्डबाट हटाउनु नपर्ने सभामुख देवराज घिमिरेले घोषणा गरेका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले भदौ १२ गते भट्टराईले संसदमा व्यक्त गरेको हिंसा शब्द असंसदीय नभएको बताएका हुन् ।
सो शब्दलाई लिएर नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले आपत्ति जनाएपछि भदौ १८ गते कार्यव्यवस्था परामर्श समितिमा छलफल भएको थियो । ‘हिंसा शब्द असंसदीय रहेको भन्ने माओवादी प्रमुख सचेतक हितराज पाण्डेले विषय उठान गरेकोमा भदौ १८ गतेको कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको राय समेतका आधारमा असंसदीय नदेखिएको हुँदा अभिलेखबाट हटाउनु नपर्ने जानकारी गराउँछु,’ घिमिरेले भने ।
साथै उनले पछिल्ला बैठकमा प्रतीकात्मक शब्द प्रयोग गर्दा पनि शब्द चयनमा सचेतता अपनाउन सांसदहरूसँग आग्रह गरेका छन् । सभामुखले घोषणा गरेलगत्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले गलत नियतले माओवादी जनयुद्धलाई होच्चाउने गरेर विषयवस्तु राखेको आरोप लगाए । उनले संविधानले जनयुद्ध स्वीकारेको भन्दै संसदको रेकर्डमा राख्नु गलत भएको बताए ।
माओवादी जनयुद्ध हिंसा हो होइन भन्ने विषयलाई लिएर एमाले र माओवादी नेताहरूबीच पछिल्लो समय वाकयुद्ध चलिरहेको छ ।


प्रतिक्रिया