काठमाडौं, १४ असोज । हेटौँडा–काठमाण्डौ जोड्ने त्रिभुवन राजपथ सडकअन्तर्गत चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालन गरिएको छ । पहिरो पन्छाएर हिजो बेलुकीदेखि सडक एकतर्फी सञ्चालनमा आएको र सडक दुईतर्फी सञ्चालन गर्न केही समय लाग्ने प्रहरीले जनाएको छ । यस सडकखण्डअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।
कान्तिलोकपथ सडकको बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नम्बर वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भीमफेदी गाउँपालिका–८ को बागमती खोलाको पुल कटान गरी सडक पूर्ण अवरुद्ध भएको छ । दक्षिणकाली छैमले सिस्नेरी सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसी कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध छ ।
दक्षिणकाली छैमले सिस्नेरी सडककै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
कुलेखानी मार्खु भित्री सडकको इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङमा पहिरोको कारण थानकोट–कुलेखानी बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसी हेटौँडा–कुलेखानी जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया