मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्षासँगैको पहिरोले मुख्य राजमार्ग अवरुद्ध, सकेसम्म यात्रा नगर्न आग्रह

वर्षासँगैको पहिरोले मुख्य राजमार्ग अवरुद्ध, सकेसम्म यात्रा नगर्न आग्रह

न्यूजस्टोरी

काठमाडौं, १२ असोज । लगातारको वर्षासँगैकोे पहिरोले मुख्य राजमार्ग ठप्प भएको छ । काठमाण्डौ उपत्यका जोड्ने त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथमा बाढीपहिरोका कारण हिजोदेखि गाडी चल्न सकेका छैनन् ।

काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा नजिकै पहिरो खस्दा हिजोदेखि नै सडक अवरुद्ध भएको छ । सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । बर्दीबास–सिन्धुली–खुर्कोट–धुलिखेल जोड्ने बीपी राजमार्गको काभ्रेको भ्याकुरे खोला र चारसय बेँसीमा सडक अवरुद्ध भएको छ । चारसय बेँसीमा सडकमाथिबाट लेदो खसेको हो भने भ्याकुरे खोलामा बाढीले ह्युमपाइप बगाएको छ ।

बनेपामा पनि बाढीले सडक अवरुद्ध भएको छ । काठमाण्डौ–हेटौंडा जोड्ने कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–पाखेल र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक पनि पहिरोले अवरुद्ध भएका छन् । हेटौँडा–काठमाण्डौ जोड्ने सडकका विभिन्न ठाउँमा सडकमाथिबाट ढुङ्गा र लेदोसहितको पहिरो खसेकाले अवरुद्ध भएको र वर्षाका कारण पहिरो पन्छाउन नसकिएको मकवानपुर प्रहरीले जनाएको छ ।

सरकारले हिजो र आज रात्रिबस नचलाउन आग्रह गरेपछि काठमाण्डौ प्रशासनले हिजो थानकोट हुँदै बाहिरिने गाडी कलङ्की, थानकोट र नयाँ बसपार्कमा रोकेको छ भने चितवन प्रशासनले नारायणगढ–मुग्लिन सडकमा गाडी चलाउन रोक लगाएको छ । हिजो बेलुकी ७ बजेदेखि बन्द गरिएको मुग्लिन–नारायणगढ सडक आज बिहान ५ बजेपछि सडक खुलाउने भनिए पनि नौकिलो भन्ने ठाउँमा सडक भासिएकाले खुल्न समय लाग्ने मुग्लिन प्रहरीले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्डमा पनि सडक अवरुद्ध भएको छ । लगातार पानी परेका कारण पहिरो खसेको ठाउँमा सडक खुलाउन समय लाग्ने र अरू ठाउँमा पनि पहिरो खस्ने सम्भावना भएकाले सकेसम्म यात्रामा ननिस्कन र सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।