काठमाडौं । विशेष अदालतले मेलम्ची खानेपानीको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरलाई आठ वर्ष एक महिना कैद सजाय सुनाएको छ।
अदालतले ठाकुरलाई १० करोड १० लाख ६१ हजार ७५ रुपियाँ बिगो कायम गर्दै बिगो अनुसार जरिबाना फैसला गरेको छ। ठाकुरसहित चार जनालाई विशेषले भदौ २४ गते दोषी ठहर गरेको थियो। सोमबार न्यायाधीश टेकनारायण कुँवर, तेजनारायाणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सजाय निर्धारण गरेको हो।
यस्तै अदालतले मेलम्ची खानपानी समितिका तत्कालीन कार्यकारी निर्देशक सूर्यराज कँडेललाई पनि आठ वर्ष एक महिना नै कैद गरेको छ। कँडेललाई पनि १० करोड १० लाख ६१ हजार ७५ रुपियाँ बिगो कायम गरी सोही अनुसार जरिवाना गरेको छ।
अदालतले विकास समितिका तत्कालीन कार्यकारी निर्देशक तथा लेखा उत्तरदायी अधिकारी रामचन्द्र देवकोटालाई पनि आठ वर्ष एक महिना कैद सजाय गरेको छ। १० करोड १० लाख ६१ हजार ७५ रुपियाँ जरिबानाको फैसला पनि अदालतले गरेको छ।
यस्तै परामर्शदाता कम्पनीका शिवकुमार शर्मालाई अदालतले दुई करोड ९५ लाख ६५ हजार ६०३ रुपियाँ बिगो कायम गरेर सोही अनुसार जरिवाना गरेको छ। आठ वर्ष कैद सजाय भए पनि ज्येष्ठ नागरिक भएकाले शर्माले २५ प्रतिशत छुट पाएका हुन्। उनको दुई वर्ष कैद छुट हुने छ।


प्रतिक्रिया