काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयबाट नेपाली कांग्रेस र नेकपा एमाले पछि हट्ने विश्वास गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुख हटाउने विषयमा कांग्रेस र एमाले नै पछि हट्ने विश्वास व्यक्त गरेका हुन् ।
केही कुरा नजानेर त्रुटि गर्दा उपसभामुखलाई हटाउन नहुनेमा आफू दृढ रहेको उनले बताए । ‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्याति प्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटि गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट कांग्रेस एमाले नै पछि हट्छन् जस्तो लागेको छ ,’ प्रचण्डले भने
संसद सचिवालयसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान भिसा अन्तर्वार्ताको मिति तोक्न आग्रह गर्दै उपसभामुख मगरले पोहोर फागुनमा अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । अमेरिकी दूतावासलाई उनले लेखेको पत्रलाई लिएर सत्तारूढ दलहरूले उपसभामुखको पदीय गरिमा गिरेको भन्दै राजीनामा मागिरहेका छन् ।प्रचण्डले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै उनीहरू सबै योग्य भएको बताए । उनले अब पर्सि (सोमबार) बस्ने संवैधानिक परिषद्को बैठकमा सहमति गर्ने सम्भावना रहेको बताए । ‘प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ,’ उनले भने, ‘सबै योग्य हुनुहुन्छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन ।’ उनले रिक्त रहेका संवैधानिक पदमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताए ।
‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद् चल्न नदिने उनले दोहोर्याए । ‘योगेश भट्टराईले जनयुद्धलाई ‘हिंसा’ भनेर अपभ्रस गर्ने, अपव्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसद्मा विरोध जारी रहन्छ,’ उनले भने ।


प्रतिक्रिया