मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा ‘प्याज राजनीति’, विपक्षीले चुनावी मुद्दा बनाएपछि सरकारले हटायो प्याज निर्यात प्रतिबन्ध

भारतमा ‘प्याज राजनीति’, विपक्षीले चुनावी मुद्दा बनाएपछि सरकारले हटायो प्याज निर्यात प्रतिबन्ध

न्यूजस्टोरी

काठमाडौं : भारतले प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध करिब ६ महिनापछि हटाएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचना अनुसार प्याजको न्यूनतम निर्यात मूल्य तोकेर प्रतिबन्ध हटाइएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । महानिर्देशनालयले प्याजको न्यूनतम निर्यात मूल्य प्रतिटन ५५० डलर तोकेको हो ।

किसानहरुलाई राम्रो मूल्य प्राप्त गर्न मद्दत गर्ने बताउँदै भारतका प्याज व्यापारी र विशेषगरी महाराष्ट्रका किसानहरुले निर्यात प्रतिबन्ध हटाउन आग्रह गर्दै आएका थिए । यद्दपि, भारत सरकार भने आन्तरिक मूल्य बढ्ने डरले निर्यात प्रतिबन्ध हटाउन अन्योलमा रहेको थियो ।

भारतले सन् २०२३ को डिसेम्बरदेखि गत मार्च ३१ मा सम्म प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर मार्च ३१ पछि प्रतिबन्धलाई पुनः अनिश्चितकालसम्मका लागि निरन्तरता दिइएको थियो । यसअघि सन् २०२३ अगस्टदेखि डिसेम्बर ३१ सम्म भारतले प्याजमा ४०% निर्यात करसमेत लगाएको थियो ।

भारतमा ‘प्याज’ राजनीति

गत महिना भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्याज निर्यात प्रतिबन्धबाट प्रभावित महाराष्ट्रका प्याज किसानहरुलाई बेवास्ता गरेकोमा नरेन्द्र मोदी सरकारको आलोचना गरेको थियो । कांग्रेसले आफ्नो चुनावी घोषणापत्रमा पनि आकस्मिक र हानिकारक नीतिहरुबाट कृषकहरुलाई जोगाउन पूर्वनिर्धारित आयात–निर्यात नीतिको प्रतिवद्धता जनाएको छ ।

सोही कारण भारतीय जनता पार्टी नेतृत्वको सरकारले चुनावको मुखैमा प्याज निर्यात गर्न दिने किसान केन्द्रीत निर्णय गरेको कतिपयले विश्लेषण गरेका छन् । प्याज जहिले पनि भारतको राजनीतिक अर्थतन्त्रको महत्वपूर्ण हिस्सा रहँदै आएको छ । विशेषगरी चुनावको समयमा प्याजको मुद्दा जोडतोडका साथ उठ्ने गरेको छ ।

इन्दिरा गान्धी आफैंले सन् १९८० को केन्द्रीय चुनावलाई ‘प्याज चुनाव’ को रुप टिप्पणी गरेकी थिइन् । त्यसबेला, स्वतन्त्र भारतको पहिलो गैर–कांग्रेस सरकारलाई हराउँदै इन्दिरा गान्धीले चुनाव जितेकी थिइन् । गान्धीले प्याजको उच्च मूल्यलाई चुनावी मुद्दा बनाएकी थिइन् । यद्दपि, उनले चुनाव जितेको १ वर्षभित्रै प्याजको मूल्य थप बढेर प्रतिकिलो ६ रुपैयाँसम्म पुगेको थियो ।