मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आफ्ना सांसदले राँगा, भैँसीको विषयमा बहस गरेकोमा रवि लामिछानेद्वारा क्षमायाचना

आफ्ना सांसदले राँगा, भैँसीको विषयमा बहस गरेकोमा रवि लामिछानेद्वारा क्षमायाचना

न्यूजस्टोरी

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरूको केही दिनयताको बहस अमर्यादित भएको भन्दै माफी माग्नुभएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा सभापति लामिछानेले विगत केही दिनयता प्रतिनिधि सभामा भएको छलफलबाट आफू लज्जित भएको बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबरबाहेक केही पनि नपाउने बताउनुभयो । बजेटको विषयमा कुराकानी गरिरहँदा यस्तो विषय बैठकमा उठ्नुले सर्वसाधारणमा राम्रो सन्देश नगएको भन्दै आफ्नो भागमा पर्ने दोषप्रति आफू जिम्मेवार भएको र क्षमायाचना गर्ने सभापति लामिछानेको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामी संसद्को मर्यादा राख्नलाई कहीँ कतै चुकिरहेका त छैनौँ यसबारेमा अलिकति ध्यानाकर्षण गराउन चाहन्छु । संसदमा केही दिनयता भएका बहसलाई लिएर हामी कहीँ न कहीँ लज्जित भएका छौँ । यो सदनमा भैँसी, राँगाको विषयमा गफ गरेर पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौँ । हामी आत्मालोचना गर्न चाहन्छौँ । हाम्रा दलबाट पनि भएका कमजोरीलाई आत्मालोचना गर्न चाहन्छौँ ।

सभापति लामिछानेले हचुवाको भरमा बजेट निर्माण भएको टिप्पणी गर्नुभयो । उहाँले बजेट राजस्वमा आधारित भएको भन्दै कार्यान्वयनमा आशङ्का पनि गर्नुभयो । उहाँले गोरखा, नुवाकोट र डडेलधुरामा मात्रै विकास बजेट गएको समाचारहरू बाहिरिएको भन्दै यस सम्बन्धमा अर्थमन्त्रीको जवाफको माग गर्नुभयो । उहाँले बजेटमा विदेशमा भएका नेपालीलाई मताधिकार दिने विषय नपरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

यस्तै सभापति लामिगछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन माग गर्नुभयो । त्यसैगरी उहाँले आउँदा दिनमा बजेट बन्नुभन्दा पाँच महिना अगाडि नै शिक्षा र स्वास्थ्य नीति कस्तो बनाउने भन्ने सम्बन्धमा बृहत् छलफल गरेर साझा अवधारणा बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस्तै आफूहरू जन्मसिद्ध नागरिकले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै नागरिकता विधेयक संसदमा छलफल हुनुपर्ने र आफूहरू छलफलमा भाग लिन पाउनुपर्ने पक्षमा रहेको उहाँले बताउनुभयो ।