काठमाडाैं । आजबाट औपचारिक रुपमा दशैं सुरु भएको छ । आजदेखि देखि सरकारी बिदा सुरु हुन्छ । यसपटक दशैंमा करिब १ गतेसम्म दिन बिदा रहेको छ । दशैको समयमा मौसम पनि राम्रो हुने र बिदा लामो समय हुने हुँदा परिवार, साथीभाइसँग देशका विभिन्न स्थानमा घुम्न जान सकिन्छ । पछिल्लो समय नेपालीहरुमा घुमघाम गर्ने संस्कृति विकास भइरहेको पाइन्छ ।
नेपाल भौगोलिक रुपमा विविधतायुक्त स्थान हो । उचो हिमाली क्षेत्रदेखि समुद्री सतहदेखि सबैभन्दा गहिरो स्थानसम्म रहेको नेपालमा प्राकृतिक क्षेत्रहरु भ्रमणका लागि धेरै स्थान छ । समय र पैसाको व्यवस्थापन मिलाउन सकिएको खण्डामा बिदाको समयमा यस्ता क्षेत्रहरुको भ्रमण गर्न सकिन्छ ।
इलाम
चिया बिना इलामको परिचय अधुरो हुन्छ । हिल स्टेसनको रुपमा विदेशी पर्यटक माझ परिचित इलामलाई धेरै नेपालीले ’चिया बगान’ रुपमा चिन्छन् । इलाममा विसं १९२० मा ११८ हेक्टर जमिनबाट सुरु गरिएको चिया खेति अहिले ५५ हजार हेक्टर भन्दा बढीमा फैलिएको छ ।
महेन्द्र राजमार्गको चारआलीबाट उत्तर तर्फ लागेपछि चिया बगानका मनोरम दृश्य देखिन्छन् । चैतदेखि मंसिरसम्म बगानमा चियाका मुना टिपेको सुन्दर दृश्यले त्यहाँ पुग्ने प्रायलाई लोभ्याउँछ । कन्याममा १ सय ४० वर्ष पुराना चियाका बगानहरु रहेको छन् । पुर्वमा फिक्कल र कन्याम पिक्निकका लागि पनि निकै प्रख्यात रहेको छ । इलाम पुग्नेहरु मध्ये कन्याममा चिया बगानको मनोरम दृश्य नियाल्दै फोटो नखिच्ने सायदै कोही होला ।
फिक्कलबाट ३५ किलोमिटरमा इलाम बजार पुग्न सकिन्छ भने १० किलोमिटरमा दार्ज्लििङ पस्ने नाका पशुपतिनगर। धेरै नेपाली फिक्कल हुँदै दार्ज्लििङ जाने गर्छन् । फिक्कलमा रहेको कन्याम बगान घुमेर फर्किदा इलामका धेरै आकर्षण छुट्छन् । अन्तुडाडाँ, माईपोखरी, सन्दकपुर, छिन्टापु, मिकलाजोङ, टोड्के झरना, माङमालुङ, सिद्धिथुम्का, गजुरमुखी, पाथिभरा मन्दिर इलामका पर्यटकिय आकर्षण हुन् ।
समुद्र सतहबाट २३२८ मिटरको उचाईमा रहेको अन्तुडाडाँबाट ईमामे चियाको चुस्की लिदैँ चिसो हावामा सुर्योदयको मनोरम दृश्य हेर्न हजारौं पर्यटक इलाम पुग्ने गर्छन् । इलाम सदरमुकामबाट गाडिमा ३ घण्टामा पुग्न सकिने अन्तुडाडाँबाट देखिने सुर्यास्तको दृश्य पनि अलौकिक हुन्छ । बेलुका होमस्टेको अर्गा्निक खाना अन्तुडाडाँको स्मरणिय पक्ष हो ।इलामको अर्को आकर्षण हो माईपोखरी । इलाम बजारबाट १८ किलोमिटरको दुरीमा रहेको माईपोखरीमा नवरात्रीको समयमा मेला लाग्ने गर्छ । इलामबाट हिमाल हेर्न चाहनेले छुटाउनै नहुने ठाउँ हो सन्दकपुर ।
३,६३६ मिटरको उचाईमा रहेको भारत नेपालको सिमानामा पर्ने सन्दकपुरबाट कञ्चनजंगा, कुम्भकर्ण, मकालु र समरमाथा हिमाल देखिन्छ । सन्दपुर माईपोखरीबाट ५ घण्टाको पैदल दुरीमा पर्छ । इलाम बजारमा पनि कन्याम जस्तै चियाको बगान रहेको छ ।
इलाम बजार जादाँ बाटोमा पर्ने देविको मन्दिर ताप्लेजुङमा रहेको पाथिभरा देविको कान्छी बहिनी भएको जनविश्वास छ । मेचि राजमार्गमा पर्ने देवी मन्दिरमा ताप्लेजुङको पाथिभरा पुग्न नसक्नेले पुजा गर्ने गर्दछन् ।
सिन्धुलीगढी
सिन्धुलीगढी, विस १८२४ कार्तिकमा गोर्खाली फौजले बाहादुरीपूर्वक लडेर अंग्रेजलाई पराजित गरेका ठाउँहो सिन्धुलीगढी । उक्त युद्धमा गोरखाली फौज पराजित भएको भए विस १८२५ मा गोरखालाई काठमाडौँ जित्न कठिन हुन्थ्यो ।
इतिहासकारका अनुसार गोरखाले काठमाडौँलाई घेरेर नाकाबन्धि लगाएपछि राजा जयप्रकाश मल्लले अंग्रेजसँग सहयोग मागेका थिए । कप्तान किनलकको नेतृत्वमा २४०० जनाको अंग्रेज सेनाको फौज उनलाई सहयोग गर्न काठमाडौँ आईरहेको थियो । तर गोर्खाली सेनाले सिन्धुलीगढीबाटै उनिहरुलाई परास्त गर्दै फर्काईदिएका थिए ।
विश्वमा सबैलाई पराजीत गर्दै हिडेको अंग्रेज सेनालाई गोर्खाली फौजले पराजित गर्न नसकेको भए नेपालको अवस्था फरक हुन्थ्यो । इतिहासकारहरूका अनुसार भारतवर्षमा तत्कालिन समयमा इस्ट इण्डिया कम्पनीको आक्रमण पछि सिन्धुलीगढीको युद्ध गोर्खालीको लागि जिवनरमरणको युद्ध थियो ।
सिन्धुलीगढीको यूद्घमा गोर्खालीले कम्पनी सेनालाई पराजित नगरेको भए सिङ्गो नेपालको निर्माण असम्भव थियो । इतिहासकारले बिभिन्न पुस्तकहरुमा सिन्धुलीगढीलाई नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज भएको उल्लेख गरेका छन् । गढी क्षेत्रमा बनाईएका खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले पनि हेर्न सकिन्छ । नेपाली योद्धाको युद्ध रणनीति र शाहस महसुस गर्न एक पटक सिन्धुलीगढी पुग्नै पर्छ ।
ईतिहास बोकेको शहर सिन्धुलीगढी समुद्री सतहबाट १४३३ मिटरको उचाईमा रहेको छ । इतिहासकारहरूको अनुमानमा विसं १४११ र १४५२ को बिचमा तत्कालिन राजा जयस्थिति मल्लले काठमाडौं माथि हुन थालेको आक्रमणबाट बचाउन सिन्धुलीगढी निर्माण गरेका थिए ।
पर्सा, गढिमाइ र सिम्रौनगढ
जंगल सफारी भन्दा धेरैको दिमागकमा चितवन राष्ट्रिय निकुञ्जको नाम आउँछ । चितवन कति जाने भन्नेहरुका लागि पर्सा राष्ट्रिय निकुञ्ज राम्रो विकल्प हो । त्यसो त पर्सा राष्ट्रिय निकुञ्ज आफैमा पनि महत्वपुर्ण छ ।
गौरी गाई पर्साको प्रमुख आकर्षण हो । गौरी गाई लगाएतका वन्यजन्तु संरक्षणका लागि सन् १९८४ मा स्थापित पर्सा बन्यजन्तु आरक्षलाई सरकारले पर्यटकिय गन्तव्यको रुपमा पनि विकास गर्न गत वर्ष राष्ट्रिय निकुञ्जमा बढोत्तरी गरिएको थियो ।
पर्सा मकवानपुर र बारा जिल्लामा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज ४३५ मिटर देखि ९५० मिटर सम्मको उचाईमा फैलिएको छ । राष्ट्रिय निकुञ्जमा ९१९ प्रजाती बोट विरुवा र एक सय भन्दा बढी किसीममा जंगलि जनावरहरु रहेका छन् ।
पर्सामा हात्ती सफारी र जंगल सफारीका प्याकेज पाईन्छन् । पर्सा राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा पुरानो रेल्वे स्टेसन अमलेखगञ्जबाट १ किलोमिटरको दुरीमा छ । ६२७.३९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पर्सा राष्ट्रिय निकुञ्जको सिमाना पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको वाल्मिकी राष्ट्रिय निकुञ्ज सँग सिमा जोडिएको छ ।
त्यसलै पर्सामा प्राय चितवनमा पाईने सबै किसिमका जनाबरहरु पाईन्छन् । पर्सा पुग्ने पर्यटकले पाटेबाघ, हात्ति, एक सिङे गैडा, मृग र जरायोको बथानहरु देख्न सकन्छन् । निकुञ्ज भित्र रहेको हलखोरिया दह, कामीनि दह वरीपरि जंगली जनावरले पानी खाईरहेको मनोरम दृश्य देख्न सकिन्छ ।
पर्यटन व्यवसायी मोहन प्रसाद शर्मा दशैंको समयमा पर्सा राष्ट्रिय निकुञ्जको भ्रमण पछि करिब ४० किलोमिटरको दुरीमा रहेको बाराको गढिमाई जाने पर्यटक बढिरहेको बताउँछन् । ५ वर्षमा बिषेश मेला लाग्ने गढीमाईलाई तराई क्षेत्रका प्रसिद्ध शक्तिपीठ हो ।
यस्तै एक दिन थप समय हुने हो भने बारा जिल्लामा रहेको सिम्रौनगढ पनि पुग्न सकिन्छ । सिम्रौनगढ, प्राचिन मिथिला राज्यको राजधानी । सन् १०९७–१३२६ सम्म मिथिला राज्यको राजधानी रहेको सिम्रौनगढ अहिले बारा जिल्लाको सिम्रौनगढ नगरपालिकामा पर्छ ।
जमिनमा गढेका ढुंगामा सन्दुक, काला चिल्ला ढुंगाका मुर्तिहरु कङ्कालीनी माईको मुर्ति, चौडा ईटा, पुराना रुख मार्फत सिम्रौनगढको पुरानो उपस्थिति कायम गरेका छन् ।
कसरी जानेः काठमाडौँबाट पर्सा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार हात्तिसार १५० किलोमिटरको दुरीका रहेको छ ।आफैं गाडी ड्राईभ गरेर हेटौडाबाट पर्सा राष्ट्रिय निकुञ्ज, गढिमाई , सिम्रौनगढ र जनकपुर सम्म घुमेर विपी हाईवे हुदै सिन्धुलीगढी भएर काठमाडौँ फर्किन सकिन्छ ।सार्वजनिक गाडीमा जाने हो भने बल्खुबाट सुमोमा चढेर ३ घण्टामा हेटौडा पुगिन्छ । हेटौडाबाट पर्सा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार गाडीमा २० मिनेटमा पुगिन्छ । प्लेनमा काठमाडौँबाट सिमरा १५ मिनेटमा । सिमराबाट हात्तिसार १० किलोमिटरको दुरीमा रहेको छ ।
पाल्पा
विस १८६० सम्म पाल्पा स्वतन्त्र र शक्तिशाली राज्य थियो । पाल्पाले सोह्रौ शताब्दीमा धनकुटा सम्म शासन गरेको ईतिहासहरुमा उल्लेख छ ।
वहादुर शाह र भीमसेन थापाको रणनैतिक चतुर्याईले पाल्पा राज्य विस १८६१ मा नेपाल राज्यमा गाभिएको थियो ।अहिले पाल्पा जिल्ला सदरमुकाम रहेको तानसेन विगतमा सेनवंशीय राजाहरू राजधानी थियो ।
ढाका टोपी, करुवा पाल्लालाई चिनाउने बस्तु हुन् । यस्तै पाल्लाको चुकाउनीले पनि धेरैको जिब्रो रसाउन्छ ।पाल्पा जिल्ला समुद्री सतहबाट २०० मिटर देखि २००० मीटरसम्मको उचाईमा रहेका छ ।
जेठ बैशाखमा ४० किलोमिटरको दुरीमा रहेको बुटवलमा ४० डिग्री सेल्सियस तापक्रम हुदाँ पाल्पाको तापक्रम २५ भन्दा माथि उकिल्दैन । जाडो याममा पनि तापक्रम ३।७ डिग्री सेल्सियस भन्दा कम हुँदैन । रानीमहल, श्रीनगर डाँडा, भैरवस्थान, मदनपोखरा, राम्दी सुन गुफा, कालीगण्डकी, पाल्पाका प्रमुख पर्यटकीय स्थलहरू हुन् । यस्तै जिल्ला सदरमुकाम तानसेनमा प्राकृतिक सोन्दर्य निहाल्न भ्यू टावर पनि बनाईएको छ ।
रानीमहल खड्गशम्सेरले आफ्नी रानीको सम्झनामा बनाएका थिए । जसलाई नेपालको ताजमहल पनि भनिन्छ । पाल्पा सदरमुकाम तानसेनबाट १५ किलोमिटरको रानीमहल पुग्न गाडिमा १ घण्टा र हाईकिङ गर्दा करिब ३ घण्टा लाग्ने गर्छ ।
एक नास सुस्याउँदै बगिरहेको कालीगण्डकी नदिको तिर र सुनसान जंगलको बीचमा रहेको रानीमहलमा पुग्ने जो कोहि पनि मन्त्रमुग्द्ध हुन्छन् । रानीमहल क्षेत्रमा खानाको व्यवस्था भएका सामान्य होटलहरु रहेका छन् । पाल्पा पुग्नेले छुटाउन नै नहुने ठाउँ हो सदमुकाम मै रहेको ’श्री नगर’ डाँडा ।
तानसेनबाट २० मिनेट हाईकिङ गर्दै पुग्न सकिने श्री नगरडाँडाबाट धौलागिरी, अन्नपूर्ण १, अन्नपूर्ण २, अन्नपूर्ण ३, माछापुच्छ्रे लागाएतका हिमालहरु देख्न सकिन्छ ।
श्री नगरलाई आकर्षित बनाउन बुद्ध मुर्ति, प्रकृति नियाल्दै ध्यान गर्न सकिने ठाउँ बनाईएको छ । पाल्मा सदरमुकामबाट १५ किमीको दुरीमा अर्गली दरबार पुग्न रहेको छ । संरक्षणको अभावमा एतिहासिक दरबारको स्वरुप बिग्रदै गएको छ ।
गोरखा, बन्दीपुर र मनकामना
गोरखा एतिहासिक शहर । मुख्य रुपमा गोरखा चार कारणले प्रसिद्ध रहेको छ । पहिलो नेपाल एकिकरण गर्न महत्वपुर्ण भुमिका खेल्ने पृथ्विनारायण शाहको जन्मस्थल । दोस्रो शाहबंशको पुरानो गोरखा दरबार । तेस्रो हरेक वर्ष आधिकारीक रुपमा दशैं सुरु हुने ठाउँ र चौथों विश्वमा चर्चित गोरखाली सेनाको उद्गगम स्थल ।
गोरखालाई विशाल नेपालको आधार पनि भनिन्छ । नेपाल एकिकरणमा महत्वपुर्ण भुमिका खेलेका पृथ्वी नारायण शाहको जन्म भएको गोरखा दरबार अझै पनि गोरखामा देख्न सकिन्छ ।
गोरखा जिल्ला सदरमुकामबाट पुर्व दक्षिण क्षेत्रमा रहेको ऐतिहासिक दरबार सहर भन्दा माथि पहाडको टुप्पामा छ ।
बजारबाट दरबार सम्म पुग्ने पक्की मोटर बाटोे छ । तर धेरै पर्यटकहरु करिब एक घण्टा उकालो चढेर दरबार पुग्ने गर्छन् ।
गोरखा दरबार भित्र पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर र बाबा गोरखनाथको मुर्ति रहेको छ । पृथ्वीनारायण शाहलाई नेपाल एकिकरण गर्ने प्रेरणा गोरखनाथबाट मिलेको ईतिहासहरुमा उल्लेख गरिएको छ ।
विश्वको पाचौँ उच्च शिखर मनास्लु पदयात्रामा जान पनि गोरखा पुग्नै पर्छ ।अन्नपुर्ण क्षेत्रको पदमार्ग मोटरबाटोले बिगारेपछि पछिल्लो समय मनास्लु जाने पर्यटकको संख्या बढेको छ ।
गोरखामा २०७२ साल बैशाख १२ गते आएको भूकम्पको केन्द्र बिन्दु बारपाक पनि पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको । उच्च हिमाली क्षेत्रमा रहेको लाप्राक गाउँ पनि पर्यटकको रोजाईमा पर्छ । सदरमुकाम बरिपरि पनि गोरखामा नेपालका पुराना मुस्लिम समुदाय रहेका छन् ।
लाङटाङ र गोसाईकुण्ड ट्रेक
लाङटाङ हिमाली क्षेत्रको पहिलो राष्ट्रिय निकुञ्ज हो । सन् १९७० साल देखी संरक्षण गरिएको क्षेत्रलाई सन् १९७६ मा राष्ट्रिय निकुञ्ज बनाईएको थियो । ६६० वर्ग किलोमिटर क्षेत्रफल रहेको लाङटाङ राष्ट्रिय निकुञ्ज नुवाकोट रसुवा र सिन्धुपाल्चोक जिल्लामा ६४४० मिटरको उचाई फैलिएकोे छ ।
हिम उपत्यका रुपमा चर्चित लाङटाङ राष्ट्रिय निकुञ्जमा लाङटाङ उपत्यका, केन्जीन भ्याली उपत्यकाका साथैं हिन्दुकोहरुको पवित्र धार्मिक स्थल गोसाईकुण्डको रहेको छ । हिमाली क्षेत्रको पदयात्रामा लाङटाङ पदयात्रा विश्वमा नै चर्चित गन्तव्य हो ।
लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्ने गोसाईकुण्ड र लाङटाङ उपत्यका जाने छुट्टा छुट्टै ट्रेकिङ ट्रेल रहेका छन् । लाङटाङ र केन्जीन भ्याली उपत्यकाको पदयात्रा पुरा गरेर काठमाडौँ फर्किन ६ दिन लाग्द । यस्तै गोसाईकुण्डको पदयात्रा भने ४ दिनमा पुरा गर्न सकिन्छ ।
पुराण अनुसार समुद्र मन्थनपछि निस्केको कालकुट बिष खाएका महादेब आराम गर्न गोसाईकुण्ड पुगेका थिए । यस्तै ईतिहास अनुसार अंग्रेज सँगको युद्धपछि आराममा लागि अमर सिंह थापा गोसाईकुण्ड पुगेका थिए ।
सेप्टेम्बर अक्टोबर लाङटाङ ट्रेकमा जाने सबै भन्दा राम्रो समय हो । यो सिजनमा कुहिरो र बादल खासै नलाग्ने भएकाले पलयात्राको क्रममा टलक्क टल्केका हिमालहरु देख्न सकिन्छ । चारैतिरबाट हिउँले घेरेको लाङटाङ उपत्यकामा नजिकैबाटै हिमाल देखिन्छन् । काठमाडौँको तुलनामा हिमाली जिल्ला भएकाले रसुवामा चिसो बढी हुने भएकाले लाङटाङ वा गोसाईकुण्डको पदयात्रामा न्यानो लुगा छुटाउनु नै हुन्न ।
ट्रेकिङ गर्दा बोक्न सहज हुने ब्याग, ट्रेकिङ सुज, बेलुका र विहान लगाउन न्यानो लुगा, सिरसिरे हावाले ओठ मुख फाट्ने हुदाँ भ्यासलिन, चक्लेट र ड्राई फ्रुट छुटाउनु हुदैन । पानी पर्ने सिजन नभए पनि परिहाले जोगिन रेन कोट वा पलास्टिक लैजादा राम्रै हुन्छ । पलयात्राका क्रममा रेड पाण्डा, हिम चितुवा, जंगली कुकुर लगाएतका जंगली जनावर देख्न सकिन्छ ।यस्तै लाङटाङमा ३७३ प्रजातीका चरा चुरुङ्गि पाईने गरेको छन् । पदयात्रा सुरु गर्दा घना जंगल भए पनि माथि उक्लिदै गर्दा जंगल पातलो हुदै जान्छ ।
चारैतिर हिमालले घेरेकाले लाङटाङमा ट्रेकिङ गर्दा हिमालमा चढेझै भान हुने गर्छ । क्यामेराको मेमिरी भरिने गरि फोटो खिच्दा पनि धत पर्दैन । जति हेर्यो हेर्रैँ लाग्ने दृश्यहरु कयौँ हुन्छन् । नियमित कामको तनाव र धुलो धुवाको संसारबाट मिल्ने राहतले आफैं भित्र सकारात्मक उर्जाको संचार गर्छ ।
प्रतिक्रिया